काठमाडौं । विभागीय मन्त्री सुदन किराँतीलाई रौं जति पनि नटेरी दुई पटकसम्म स्पष्टीकरणको जवाफ दिन आनाकानी गरिरहेका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पछि दुई वाक्यको झारा टार्ने स्पष्टीकरण दिएर सोध्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको नै सातो लिनुमा उनको नियुक्ति हुँदा ठूलो रकमको लेनदेन भएको भन्ने चर्चाको पुष्टि भएको छ । स्वयं प्रधानमन्त्री प्रचण्डले नै दुई-तीन वाक्यको स्पष्टीकरण दिएपछि मन्त्रीको नाक जोगिँदै जुहारी सामसुम हुने सुझावमा नै अहिले यो प्रकरण सेलाएको छ ।
२०७८ माघ १८ गते तत्कालीन पर्यटन मन्त्री प्रेम आलेलाई रिझाएर आफूभन्दा सिनियर कर्मचारीलाई उछिन्दै महानिर्देशक भएका अधिकारी एक ठूला व्यापारीको योजनामा महानिर्देशक बनाइएको स्रोतको दाबी छ । तत्कालीन पर्यटनमन्त्री आलेले ११औं तहका अधिकारीलाई ऐनमा भएको छिद्रको फाइदा उठाउँदै महानिर्देशक नियुक्त गरेका थिए ।
तालुकदार मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तर्फबाट मन्त्री किराँतीले एक हप्ताको समय दिँदै गत असार ११ गते ९ बुँदे स्पष्टीकरण सोधेका थिए । तर उनले स्पष्टीकरण नदिने अडान लिए । आफूलाई मन्त्रिपरिषद्ले नियुक्त गरेको र स्पष्टीकरण सोध्ने अधिकार पनि मन्त्रिपरिषद्को मात्रै भएकोले मन्त्रीले खोजेको स्पष्टीकरण आफूले नदिने अधिकारीले बताउँदै आएका थिए ।
अधिकारीले स्पष्टीकरणपत्रको अवज्ञा गरेको भन्दै मन्त्रालयले पुनः तीनदिने दोस्रो स्पष्टीकरण सोध्यो । फेरि पनि अवज्ञा भए मन्त्रिस्तरीय निर्णयअनुसार कारबाही अगाडि बढ्ने चेतावनीपूर्ण भाषा स्पष्टीकरणमा थियो । स्पष्टीकरण सोधेको दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न पुगेका थिए । सो दिन मन्त्रिपरिषद्को बैठक बस्ने तयारी थियो । बैठकअघि प्रधानमन्त्री पुत्री गंगा दाहालको सहयोगमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका थिए । अधिकारी गंगा दाहाल निकट छन् । यही भेटपछि उनले मन्त्रीलाई स्पष्टीकरण दिन तयार भएका थिए ।
प्रधानमन्त्रीलाई भेटेपछि अधिकारीले कारबाही नहुने आश्वासन पाएपछि स्पष्टीकरण दिन तयार भएका थिए । उनको नियुक्तिकै बेला मोटो रकम शक्ति केन्द्रलाई बुझाइएको चर्चा छ । स्पष्टीकरण सोधेपछि किराँती र अधिकारीबीच तनाव बढेको थियो । किराँती जुनसुकै हालतमा अधिकारीलाई हटाउने पक्षमा थिए । केही समूहले कारबाहीलाई रोक्न आग्रह गरेका थिए । त्यही आग्रहअनुसार किराँती कारबाहीबाट पछि हटेका थिए । त्यही समूहले महानिर्देशक अधिकारीलाई मन्त्रीसँग अनावश्यक रूपमा लड्न नहुने भन्दै भेट्न आग्रह गरेपछि उनीहरूबीच वान–टु–वान बार्ता भएको थियो । त्यसपछि दुवै कुल भएका थिए ।





प्रतिक्रिया