देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

श्रमिक समस्या समाधानमा सरकार गम्भीर : श्रममन्त्री मन्सुर

देशान्तर

काठमाडौं । श्रम तथा रोजगारमन्त्री फरमुल्ला मन्सुरले श्रमिक समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताउनुभएको छ ।

गिरिजाप्रसाद कोइरालाको ९४औँ जन्मजयन्तीका अवसर पारेर नेपाल ट्रेड युनियन काँग्रेस काठमाडौँ शाखाले आईतबार आयोजना गरेको ‘कक्षा १० पास गरेका श्रमिकका छोराछोरीलाई सम्मान’ कार्यक्रममा उहाँले भन्नुभयो, “काँग्रेस श्रमिकको सम्मान गर्ने पार्टी भएकाले श्रमिक समस्या समाधानका लागि सरकार गम्भीर छ ।”

मन्त्री मन्सुरले संविधान निर्माण गरे जस्तै यसको कार्यान्वयन गर्ने दायित्व पनि काँग्रेसकै काँधमा आएको बताउँदै यो दायित्वलाई सरकारले इमान्दारीपूर्वक पुरा गर्छ भन्नुभयो ।

तीन तहको निर्वाचन गर्न सकेमात्र संविधान कार्यान्वयन हुनेमा उहाँले जोड दिनुभयो ।

नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय कोषाध्यक्ष योगेन्द्र कुँवरले मजदुर आन्दोलनका कारण देशमा संविधान निर्माण भएको बताउँदै मजदुरको समस्यालाई राज्यले बेवास्था गर्न नहुने धारणा व्यक्त गर्नुभयो ।

नेपाल ट्रेड युनियन काँग्रेसका नेता सूर्य नेपालले काँग्रेसको जन्म नै मजदुर आन्दोलनको जगमा भएको उल्लेख गर्दै काँग्रेस श्रमिकप्रति गम्भीर हुनुपर्ने बताउनुभयो ।

नेपाल ट्रेड युनियन काँग्रेस काठमाडौँका अध्यक्ष गणेश भट्टराईले श्रमिक समस्या समाधानका लागि राज्यले श्रमिक आयोग गठन गर्नुपर्ने माग गर्नुभयो ।

सो अवसरमा कक्षा १० पास गरेका श्रमिकका ३२ जना छोराछोरीलाई सम्मान गरिएको थियो । रासस