देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सिंहदरबारमा अखडा जमाइरहेका कर्मचारीलाई अन्यत्र पठाइन्छ :मन्त्री मोदी

देशान्तर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय निजामती सेवा ऐनको मस्यौदा गरी सहमतिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको जानकारी दिएका छन् ।

          राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा मोदीले कानुन मन्त्रालयबाट सहमति प्राप्त भएपछि यथाशीघ्र मन्त्रिपरिषद्मा लैजाने बताए  । मन्त्री मोदीले भने “तीन सयभन्दा बढी स्थानमा लामो समयसम्म निमित्तको जिम्मेवारीमा रहेका स्थानीय तहमा कर्मचारी व्यवस्थापनको काम भइरहेको छ, अनुमानयोग्य कर्मचारी सरुवा मापदण्ड बनाउने कार्यलाई पनि मन्त्रालयले प्राथमिकतामा राखेको छ ।”

          मधेस प्रदेशका स्थानीय तहमा निमित्तबाट चलाउने कार्य शून्यमा झारिएको जानकारी दिँदै उनले सिंहदरबारलाई लामो समयदेखि अखडा बनाएर बसेका केही कर्मचारीको सरुवा र जिम्मेवारी पनि ज्येष्ठता तथा क्षमताका आधारमा अन्यत्र हुने स्पष्ट पारे ।

          सरकारले अर्थतन्त्र सुधार, जनजीविकाका मुद्दा तथा विकास र समृद्धिको विषयलाई पनि उच्च महत्व दिएको जनाउँदै मन्त्री मोदीले देशमा पछिल्ला समय भएका विभिन्न घटनाका सम्बन्धमा सरकारले निष्पक्ष छानबिनका लागि निर्देशन दिँदै वातावरण बनाइरहेको जानकारी दिए ।

          यसअघि बैठकमा सदस्यहरुले सङ्घीय निजामती ऐन,  सुन प्रकरण लगायतका घटना तथा भ्रष्टाचारसँग जोडिएका विषयका सम्बन्धमा जिज्ञासा राखेका थिए ।