काठमाडौं । तीन साता अगाडि भन्सारका कर्मचारी र तस्कर गिरोहको मिलोमतोमा भन्सार जा“चपास गरी उम्काइएको हालसम्मकै सबैभन्दा ठूलो परिणाममा एक सय किलोभन्दा बढी समातिएपछि अहिले यो सुन प्रकरणले ‘लहरो तान्दा पहरो गर्जिने’ उखानलाई चरितार्थ गर्न खोज्दै छ । यस प्रकरणमा ‘अन्डर वल्र्ड डन’ दाउद इब्राहिम उनका सहयोगीहरू र चिनिया“ तस्करको मिलेमतोसहित नक्कली डलरकाण्डका नाइकेहरू र लागूऔषध एवं हतियार तस्करीसमेत संलग्न रहेको सूत्रहरूले दाबी गरेका छन् । नक्कली डलर काण्डका नाइकेहरूले हुन्डीबाट रकम भारतहुँदै दुबई पुर्याई, हङकङमा सुन खरिद गरी तस्करी गरेको विभिन्न समाचार सूत्रहरूको दाबी छ । यसमा नेपाली राजनीतिका प्रमुख दलहरूका शीर्षस्थ नेताहरूको संरक्षण रहेको समेत विस्तारै खुल्दै आएको छ ।
काठमाडौंमा व्यवस्थापन गरी भारत पुर्याउने जिम्मा लिइएका भारतीय एवं बेल्जियन नागरिक दावा छिरिङले काभ्रेको नमोबुद्ध नगरपालिकाबाट बिनावडाको सिफारिस नागरिकता बनाउनु र सुनकाण्डमा उनी समातिनेबित्तिकै प्रशासनले तीन सय नागरिकताको रेकर्ड नै गायब गरेबाट पनि उच्च राजनीतिक नेतृत्वको दबाबमा प्रशासनसमेतले सहयोग गरेको पुष्टि हुन्छ । त्यसैले समातिएका भन्सारका ३ कर्मचारी, कम्पनीका मालिक भनिएका २ भरिया र दावाकै निर्देशनमा चल्ने चिनियाँ तस्कर वास्तवमा कोही पनि सुनको खास मालिक भएको देखिँदैन, साथै हालै विभिन्न शंकास्पद १० चिनियाँ नागरिकलाई कालोसूचीमा राखिएका उनीहरू पनि सुनका वास्तविक मालिक हो भन्ने पुष्टि हुँदैन । झन्डै ३२ खेप रेडी ट्रेडसले ब्रेक सु र पानी तान्ने पम्पलगायत आयात गर्दा दुई हजार किलो सुन भित्र्याइसकेको देखिन्छ ।
यति ठूलो परिणामको सुन चार महिनामा नेपालमा भित्रिएर भारत तस्करी भएको भारतीय जासुसी एजेन्सीहरूले पत्ता लगाएपछि नै यो लटको एक सय किलो सुन समातिएको सूत्रहरूले देशान्तरलाई बताएका छन् । सुनको पैसा हुन्डीमार्फत उनै दाउदकहाँ पुगेपछि पुनः लागूऔषध र अवैध हतियारमा लगानी हुने ठूलो अन्तर्राष्ट्रिय गिरोहको संलग्नताको सम्भावनालाई देखेर नै अहिले अन्तर्राष्ट्रिय दबाबमा प्रहरीको सीआईबी, विशेष ब्युरो, साइबर ब्युरो साथै नेपाली सेनाको ‘डीएमआई’ (जासुसी विभाग) समेत यसको सत्यतथ्य पत्ता लगाउन सक्रिय बनाउन निर्देशन सरकारले दिएको छ । अहिले अध्यागमन विभागले झोन जेन्वा, याओ पुचेत, विन स्याङत्जा, वोन यान, लिन वेन्व सन, तुचेन याओ, जुन्तान चेन, जयलिन ली, फुयान लिउ र जिक्वान लिन कालोसूचीमा परेका हुन् ।
तर, अहिले अनुसन्धानका क्रममा तीन विदेशी नागरिकसहित १८ जना पक्राउ परे पनि सुन तस्करी गिरोहका मुख्य सञ्चालक नभेटिइरहेको अवस्थामा सुन तस्करी सञ्जालका बारेमा डरलाग्दा तथ्य सार्वजनिक भइरहँदा एक व्यक्तिले सामान्य चिनजान र सम्बन्धका भरमा राजनीतिक दलका नेता र राज्य सञ्चालनमा रहेका अधिकारीहरूलाई कतिसम्म खेलाउन सक्दो रहेछ भन्ने प्रमाण पनि फेला पर्न थालेको छ ।
पैसा भनेपछि मरिहत्ते गर्ने नेता र कर्मचारी मौका मिले कुन हदसम्म गिर्न सक्छन् र तस्करीलाई कसरी सहयोग गर्छन् भन्ने पनि देखिएको छ । नेपालमा बसेर सुन तस्करीमा समन्वय गर्ने तिब्बती मूलका बेल्जियम नागरिक दाबा छिरिङको सम्बन्ध खुल्दै जाँदा राजनीतिक नेतृत्व पनि झस्किएको छ । राजस्व अनुसन्धान विभागले तीन सातादेखि गरिरहेको अनुसन्धान पूर्णतामा पुग्न नसके पनि यसले दिएको संकेतका आधारमा राजनीतिक दलहरूमा पनि खैलाबैला चलेको छ । खासगरी सरकारको नेतृत्व गरेको नेकपा माओवादीका केन्द्रका नेताहरू र दावाबीचको सम्बन्धले सुन तस्करीमा राजनीतिक संलग्नताको तस्बिर छर्लंग भएको छ । तस्करीमा देखिएको राजनीतिक दलका नेता, व्यापारी र कर्मचारीको जालो चिर्न अनुसन्धान निकायलाई चुनौतीपूर्ण हुने देखिन्छ । सरकारले यस तस्करी प्रकरणको अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागसँगै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई पनि जिम्मा दिएपछि तस्करीका नाममा भएका अपराधका अन्य पाटाहरू पनि खुल्ने अनुमान गरिएको छ ।
प्रमुख प्रतिपक्षी एमालेले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै सदन अवरुद्ध गरिरहेका बेला सरकारले त्यसतर्फ ध्यान नदिई अनुसन्धानलाई तीव्र बनाउने निर्णय गरिसकेको छ र अनुसन्धानको जिम्मा सीआईबीलाई दिएको छ । घटना सार्वजनिक भएदेखि नै सूक्ष्म रूपमा हेरिरहेको बताउँदै आएको सीआईबीले अब औपचारिक रूपमा नै जिम्मेवारी पाएको सन्दर्भमा अब उसका लागि पनि यो प्रकरण परीक्षा बनेको छ । खासगरी संगठित अपराध र अन्तरदेशीय अपराधमा सीआईबीले अनुसन्धान गर्नेछ भने यसमा आशंका गरिएको राजनीतिक नेक्ससलाई पनि केलाउनेछ । पक्राउ परेकामध्ये चासोका साथ हेरिएका दाबामाथिको अनुसन्धानबाटै यो प्रकरणको पर्दा खुल्ने धेरैको अनुमान छ ।
आफ्नी पत्नी माओवादी कार्यकर्ताको सम्बन्धका आधारमा दाबाले माओवादीका उच्च तहका नेताहरूसँग सम्बन्ध बनाएको र सोही सम्बन्धका आधारमा दाबाले तस्करी चलाएको अनुसन्धानको प्रारम्भिक निष्कर्ष छ । दाबाको सम्बन्ध पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिव वर्षमान पुन तथा पूर्वसभामुख ओनसरी घर्तीलगायतसँग रहेको देखिएको छ । पछिल्लो डेढ दशक यी नेता पार्टी र सरकारमा शक्तिशाली रहँदै आएका छन् । उनीहरूकै आडमा दाबाले तस्करी फैलाएको अनुमान छ । कृष्णबहादुर महरा र उनका छोरा राहुल विद्युतीय चुरोटका नाममा ल्याइएको सुन छुटाउन संलग्न भएको तथ्य यसअघि नै सार्वजनिक भइसकेको छ । दाबाले विशेषगरी चीनसँग निकट रहेका नेतासँग सम्बन्ध विस्तार गर्ने र उनीहरूकै आडमा सुन आयात गरी नेपाली बजार र भारतीय बजारमा पुर्याउने गरेको पाइएको छ ।
तस्करीको जालो बनाउन दाबाको संलग्नता देखिएको तस्करीका मुख्य नाइके भने उनी नै हुन् भन्ने चाहिँ पुष्टि भएको छैन । मुख्य लगानीकर्ता अरू व्यक्ति नै रहेको र दाबाले समन्वय मात्रै गरेको एकथरीको विश्लेषण छ । दाबाले चलाएको नेटवर्कमा को को छन् भन्ने खुल्न बाँकी नै छ ।
अर्बौंको सुन आयातमा नेतादेखि कर्मचारीसम्म मुछिएको पाइएपछि यसको अनुसन्धान फराकिलो हुने भएको छ । यो प्रकरण राजस्व छलीका रूपमा मात्रै गम्भीर अपराधमा समेत अनुसन्धान हुनुपर्ने दबाबपछि अनुसन्धानको जिम्मा प्रहरीमा पुगेको छ ।
सीआईबी प्रमुख किरण बज्राचार्यले अब राजस्व अनुसन्धान विभागले फाइल हस्तान्तरण गरेपछि सीआईबीले अनुसन्धान थाल्ने बताइन् । यसका लागि वित्तीय अपराध, संगठित अपराध र अन्तरदेशीय अपराधका छुट्टाछुट्टै युनिट बनाइने र ती युनिटले आआफ्नै तरिकाले अनुसन्धान गर्ने जानकारी दिइन् । अन्तर्राष्ट्रिय विमानस्थललाई देशको अन्तर्राष्ट्रिय सीमा पनि मान्ने गरिन्छ । त्यसैले यहाँबाट हुन सक्ने अपराधलाई अन्तर्राष्ट्रिय अपराधका रूपमा लिइन्छ । विदेशी व्यक्तिको संलग्नताले यसमा अन्तरदेशीय अपराध हुन सक्ने प्रहरीको बुझाइ छ ।





प्रतिक्रिया