काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय प्रशासनलाई बलियो बनाउन सरकारले सङ्घीय निजामती ऐन संसद्मा पेस गर्ने बताएका छन् । सरोकारवालासँग छलफल गरेर ऐनको मस्यौदा तयार गरिएको र आजै नभए अर्को दिनको ‘क्याबिनेट’मा जाने मोदीले जानकारी दिएका छन् ।
प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमले आज आयोजना गरेको ‘अन्तर सरकार सम्बन्ध सुदृढीकरणमा सञ्चारजगतको भूमिका’ विषयक अन्तरक्रियामा उनले ऐनले प्रशासनिक सङ्घीयता कार्यान्वयनमा देखिएका समस्या समाधान गरिने जिकिर गरे ।
प्रशासनिक सुधार कायम गर्न कर्मचारी दरबन्दीअनुसारको कार्यालयमा हाजिर हुनुपर्ने व्यवस्था गरिएको जनाउँदै उनले दुर्गममा सेवा गरेका कर्मचारीलाई सुगममा सरुवा गर्न लागिएको बताए ।
लामो समय निमित्तका भरमा चलेका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाइएको जानकारी दिँदै उनले काठमाडौँमा ‘अखडा’ जमाएर बसेका कर्मचारीलाई उपत्यकाबाहिर पठाइएको पनि बताए । मन्त्री मोदीले राजनीतिक तथा प्रशासनिक हस्तक्षेप र दबाब खेपेर पनि आफूले प्रशासनिक सुधारको थालनी गरेको दाबी गरे ।





प्रतिक्रिया