काठमाडौँ । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । अपराह्न १ बजे बस्ने गरी बोलाइएको बैठकका सम्भावित दैनिक कार्यसूचीमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विभिन्न पत्रबारे जानकारी दिने रहेको छ ।
जसमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र, मन्त्रिपरिषद्को गठनसम्बन्धी पत्र, मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ् ।
त्यस्तै राष्ट्रियसभा अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ । बैठकमा विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले ‘संविधानअनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन, २०८०’ सभा समक्ष पेस गर्ने कार्यसूचीमा समावेश छ ।
त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यविधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम सदन समक्ष पेस गर्ने कार्यसूची रहेको छ । बैठक बोलाइएपनि सुचारु हुने नहुने भने एकिन छैन । नेकपा एमालेले लामो समयदेखि संघीय संसद्का दुवै सदन अवरुद्ध पार्दै आएको छ ।





प्रतिक्रिया