देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चिनियाँ राजदूतलाई फिर्ता पठाऊँ 

देशान्तर

काठमाडौँ । पछिल्लो समय नेपालका लागि चिनियाँ राजदूत छन सोङको अभिव्यक्तिले नेपालको राजनीति पनि तरङ्गित भएको छ । विगतमा नेपालको आन्तरिक मामिलामा भारतीय राजदूतको हस्तक्षेपको कुरा बेस्सरी चल्ने गरे पनि चिनियाँ राजदूतको त्यस्तो भूमिकाका बारेमा चर्चा हुने गरेको थिएन । तर, पछिल्लो पटक नेपालका लागि चिनियाँ राजदूतको जुन अभिव्यक्ति आएको छ, त्यो नेपालले अवलम्बन गर्दै आइरहेको नीतिविरुद्ध देखिएको छ ।

फाउन्डेसन फर ट्रान्स हिमालयन रिसर्च एन्ड स्टडिज एन्ड फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपालको आयोजनामा ‘चीन इन् द ग्लोबल इकोनोमी एन्ड इट्स इम्प्याक्ट अन् नेपाल’ विषयक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत सोङले भारतसँगको विद्युत् व्यापारका कारण नेपालले व्यापार घाटा भोग्दै आएको बताएका थिए । उनको यो अभिव्यक्तिलाई लिएर राजनीतिक दलहरूले फिर्ता पठाउनु पर्ने आवाज उठाउन सुरु गरेका छन् । चीनसँग नजिक मानिएका नेता भनेर चिनिने माओवादी केन्द्रका वर्षमान पुनले त संसदीय समितिमा यस विषयमा सरकारले कडा रूपमा प्रतिवाद गर्नुपर्नेमा जोड दिएका छन् । संसदीय समितिले नेपाल–भारत विद्युत् व्यापारको विषयमा राजदूत चेनको टिप्पणीबारे छानबिन गर्न परराष्ट्र मन्त्रालयलाई आग्रह नै गरेको बताइएको छ । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकले परराष्ट्र मन्त्री एनपी साउदलाई बोलाएर यस विषयमा जवाफ पनि मागेको थियो । समितिका सभापति राज किशोर यादवले यस विषयमा छानबिन गर्न परराष्ट्र मन्त्रालयलाई भनेको जानकारी दिँदै यस्तो संवेदनशील विषयमा टिप्पणी गर्दा होसियारी अपनाउन राजदूतलाई आग्रह गरेको बताएका छन् ।

नेपालले भारतसँगमात्रै होइन, चीनसँग पनि व्यापार गरिरहेको छ । दुवैतर्फको व्यापार घाटा व्यहोरिएको नेपालले चिनियाँ राजदूतको अभिव्यक्तिले भविष्यमा समस्या पर्ने भन्दै नेताहरूले उनलाई स्पष्टीकरणभन्दा पनि फिर्ता पठाएर म्यासेज दिनुपर्नेमा जोड दिएका छन् ।  

सार्वभौम मुलुक नेपालले कुन देशसँग कस्तो सम्बन्ध बनाउने त्यो सरकारको रुचि र रोजाइको विषय हो । यसमा अन्य देशको राजदूतले सार्वभौम मुलुकको निर्णयमाथि नै प्रश्न उठाउनु कूटनीतिक मर्यादाको उल्लङ्घनको रूपमा बुझ्नुपर्ने कूटनीतिक वृत्तमा चर्चा छ ।

नेपाल र भारतबिचको सम्बन्ध केवल व्यापारिक तहमा मात्रै होइन, दुई देशबिचको सम्बन्ध विशेष छ । अनि विशिष्ट छ । नेपाल भारत सम्बन्ध ऐतिहासिक छ । धार्मिक एवं सांस्कृतिक रूपमा दुई मुलुकबिच समानता छ । नेपाल र भारतबिचको खुला सिमाना दुई देशको सम्बन्धको उत्कृष्ट नमुना हो । तर यो सबै कुरालाई बिर्सेर चिनियाँ राजदूतले व्यापारिक नाफा घाटाको विषयलाई उठाएर दुई देशको सम्बन्धमाथि जुन प्रश्न उठाए त्यो आपत्तिजनक र कूटनीतिक मर्यादा विपरीत रहेकाले यस विषयमा सरकारले समयमै सोच्न जरुरी छ ।