काठमाडौं । विगतमा वैदेशिक रोजगारी भन्नेबित्तिकै खाडी मुलुक र मलेसियामात्रै रहेको नेपालीहरूको विकल्प अहिले युरोपियन देशहरूमा पनि हुन थालेको छ । तर सरकारले यस विषयमा आवश्यक पहल गर्न नसक्दा नेपालीहरू योग्यता पुग्दा पनि युरोप जानका लागि वञ्चित भएका छन् ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार पछिल्लो एक वर्षमा मात्रै १३ हजारभन्दा बढी श्रमिक श्रम स्वीकृति रोमानिया गएका छन् । त्यस्तै क्रोएसियामा ७ हजार, माल्टामा ५६ सय र पोल्यान्डमा ५ हजार युवाले रोजगारीका लागि संस्थागत श्रम स्वीकृति लिएका छन् ।
गत एक वर्षमा मात्र सरकारसँग अनुमति लिएर युरोपेली मुलुक पुग्नेको संख्या ३९ हजार छ । अहिले धेरै नेपाली युवाको रोजाइ रोमानिया, पोर्चुगल, पोल्यान्ड, माल्टाजस्ता मुलुक रहेका छन् । अहिले युरोप जानका लागि भन्दै ४० हजार जनाले माग गरे पनि माग पत्र प्रमाणीकरण नभएका कारण संस्थागत रूपमा नेपाली श्रमिक युरोप जान पाइरहेका छैनन् । नयाँ मुलुकसँग सम्झौता गर्नका लागि परराष्ट्र मन्त्रालयले पहल गर्नु पर्नेमा पछिल्लो समय मन्त्रालयका अधिकारीहरुले पन्छाउँदै गएका थिए ।
वैदेशिक रोजगार व्यवसायी महासंघका प्रतिनिधिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेपछि यसै साता युरोपियन देशहरूका राजदूतसँग छलफल गर्न लागिएको छ । छलफलपछि युरोपमा नेपाली श्रमिकको उच्च माग भएपछि माग पत्र प्रमाणीकरणलाई सहजीकरण गर्न संशोधन गर्न बनाइएको वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँच निर्देशिका परराष्ट्रले अनुमोदन गर्नेछ । अहिले यति काम नहुँदा जेठदेखि नै युरोपको माग पत्र प्रमाणीकरण भएको छैन ।





प्रतिक्रिया