काठमाडौं । समाजसेवा के हो ? व्यापार वा व्यवसाय भन्ने बुझेर पनि आफ्नो स्वार्थका लागि कसरी उपाय निकालिन्छ भन्ने कुरा पछिल्लो समय दीक्षित समूहले ट्रस्टको जग्गा हडप्न अपनाएको विधिले दर्शाउँछ ।
ललितपुरको पाटनढोकामा रहेको मदन पुरस्कार गुठीको नाउँमा रहेको रातो बंगला स्कुल परिसरको जग्गा व्यक्तिको नाउँमा सारेर अपचलन गर्ने दाउँमा आफूलाई समाजसेवी बताउने दीक्षित परिवारका सदस्यहरूनै लागेको खुलासा भएको छ ।
ललितपुरको पाटनढोका नजिक सञ्चालित रातो बंगला स्कुलको २५ रोपनीभन्दा बढी जग्गा अहिले व्यक्तिको नाममा सारेर व्यक्तिगत व्यवसायका लागि उपयोग गर्ने प्रपञ्च रचिँदै छ ।
अहिले उक्त जग्गालाई व्यक्तिको नाममा देखाएर ऋण प्रयोजनका लागि एक प्रतिष्ठित वाणिज्य बैंकमा ऋणका लागि आवेदन गरिएको छ । बैंक विश्वस्त सूत्रका अनुसार बैंकमा पेश गरिएको ऋण आवेदनको निवेदन निर्णय भएको छैन, तर त्यसलाई स्वीकृतिका लागि सर्वत्र दबाब सृजना भइरहेको छ ।
ट्रस्टको जग्गा व्यक्तिको नाममा सारेर अमुक संस्था वा व्यक्तिको हितका लागि जुन प्रयत्न गरिएको छ, त्यो विधिसम्मत नभएको भन्दै जुन बैंकमा ऋण मागिएको थियो, त्यही बैंकमा अहिले छलफलको विषय बनेको छ । ट्रस्टको जग्गा कहिल्यै पनि व्यक्तिको नाममा हुन सक्दैन, तर अहिले दीक्षित परिवारको नेतृत्वमा रहेको रातो बंगलाले जुन उपाय अबलम्वन गरेको छ, त्यो राष्ट्रिय भूमी ऐनसमेत विपरित रहेको भन्दै चर्चा सुरु भएको छ ।





प्रतिक्रिया