देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमाले बागमती प्रदेश अधिवेशन आजदेखि

देशान्तर

 नेकपा एमालेको बागमती प्रदेश अधिवेशन सोमबारदेखि काठमाडौँमा सुरु हुँदै छ ।

सोमबार बिहान ११ बजे भृकुटीमण्डपमा हुने समारोहलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ । अधिवेशनको बन्द सत्र कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुनेछ । आयोजक कमिटीका अनुसार अधिवेशनमा झन्डै १२ सय प्रतिनिधि सहभागी हुनेछन् ।

अधिवेशनका लागि सबैभन्दा बढी प्रतिनिधि काठमाडौँका १ सय ३२ जना छनोट भएका छन् त्यसैगरी काभ्रेबाट १ सय २५ र मकवानपुरबाट १ सय ६ जना तथा धादिङबाट ८७, चितवनबाट ८५ , रामेछाप ८१, भक्तपुर ६६, सिन्धुली ६६, दोलखा ६५, सिन्धुपाल्चोक ६४, नुवाकोट ६४, ललितपुर ५० र रसुवाबाट २७ जना छन् । जनसङ्गठनबाट ९५ जना प्रतिनिधि छानिएका छन् ।

अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र २ उपसचिवसहित २ सय ४० सदस्यीय प्रदेश कमिटी चयन गर्नेछ । उक्त कमिटीमा ३३ प्रतिशत महिलाको सहभागिता हुनेछ भने १० प्रतिशत ४० वर्ष भन्दा कम उमेर समूहका व्यक्ति रहनेछन् ।

अधिवेशनबाट नेतृत्व हत्याउन झन्डै आधा दर्जन आकाङ्क्षीहरू सक्रिय भएका छन् । प्रदेश अध्यक्ष कार्यकारी पद भएकाले पार्टीको केन्द्रीय सदस्यदेखि पूर्व सांसदसम्म यो दौडमा लागेका छन् ।

एमाले बागमती प्रदेश अध्यक्ष पदका लागि केन्द्रीय सदस्यहरू कृष्णप्रसाद दाहाल, रचना खड्का, कैलाश प्रसाद ढुङ्गेल, एमाले बागमती प्रदेश अध्यक्ष केशवराज पाण्डे, बागमती प्रदेशका पूर्व सभामुख सानुकुमार श्रेष्ठ, पूर्व सांसद कृष्णभक्त पोखरेल लगायतले आकाङ्क्षा व्यक्त गरेका छन् ।