काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको छेन्दु पुगेका छन् । प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट आज बिहानको उडानबाट छेन्दु पुगेका हुन् ।
उनलाई छेन्दु सिचुआन प्रान्तका उपगभर्नर याङ सिङपिङ, विदेश मन्त्रालयको सिचुआन प्रान्तका निर्देशक चाङ ताओ र विदेश मन्त्रालयको एसियाली मामिलासम्बन्धी विभागका प्रमुखले स्वागत गरेका थिए । छेन्दुमा रहँदा उनले पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहालले आज साँझ चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गर्ने कार्यक्रम छ । आजै साँझ प्रधानमन्त्रीको सम्मानमा सचिव सियाओले रात्रिभोजको पनि आयोजना गर्ने छन् ।
बुधबार चीनको छोङछिङबाट ल्हासा पुगेका प्रधानमन्त्री दाहाल बिहीबार कैलाश मानसरोवरको भ्रमण गरेका थिए । प्रधानमन्त्री दाहालले ल्हासामा रहँदा विभिन्न द्विपक्षीय भेटवार्ता गरेका थिए । त्यसपछि उहाँले बुधबार नै ल्हासास्थित प्राचीन पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गरेका थिए । प्रधानमन्त्री दाहाल र उहाँको भ्रमण दलका सदस्यहरू शनिबार छेन्दुबाटै काठमाडौँ फर्किने कार्यक्रम छ । प्रधानमन्त्री दाहाल गएको शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका छन् ।





प्रतिक्रिया