देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दशैंको सातौँ दिन आज फुलपाती भित्र्याइँदै

देशान्तर

दशैंको सातौँ दिन आज विभिन्न शक्तिपीठ, दसैँघर, कोत तथा घरहरुमा फूलपाती भित्र्याइँदै छ ।

घटस्थापनाको दिन दुर्गालाई आह्वान गरेर विधिपूर्वक पूजा गरेको स्थानमा उखु, अशोकको फुल, हलेदो, धानको बाला, बेलपत्र, केराको बोट, दारिम, जयन्ती लगायतका पालुवा–फुलपाती भित्र्याउने गरिन्छ ।

काठमाडौंमा हनुमानढोका दरबारको दसैँघरमा गोरखाबाट ल्याइएको फुलपाती भित्र्याउने परम्परा छ । फुलपाती दुई थरिका जातिले भित्र्याउने चलन रहेको छ । गोरखाबाट धादिङको जीवनपुरसम्म गोरखा दरबारको दसैँघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङको जीवनपुरदेखि जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने गरिएको छ ।

जमलबाट हनुमानढोकासम्म भने निजामती सेवाका उच्चपदस्थ अधिकारी, नेपाली सेनाको ब्यान्डबाजा, गुर्जुको पल्टन, नेपाली सेनाको ब्यान्डबाजा, पन्चेबाजा र नाचगानका साथ फुलपाती भित्र्याउने गरिन्छ ।

पृथ्वीनारायण शाहले काठमाडौँमा विजय प्राप्त गरेको समयदेखि शुरु भएको फुलपाती भित्र्याउने परम्परा कायम छ । आजकै दिन राती कालरात्रि देवीको पूजा समेत गरिन्छ ।