देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गठबन्धनमा टुङ्गिएन राष्ट्रिय सभाको सिट बाँडफाँट, एमालेलाई पनि सामेल गराउने तयारी

देशान्तर

काठमाडौं। एमालेले आफूलाई शून्य नपार्न गरेको आग्रहले सत्ता गठबन्धन दलका दलहरूबिच राष्ट्रिय सभा सदस्यको सिट बाँडफाँटका लागि भएको छलफल निष्कर्षविहीन भएको छ । बालुवाटारमा बुधवार साँझ बसेका शीर्ष नेताहरूले सत्ता गठबन्धनका दलहरूले कति कति सिटमा आफ्ना उम्मेदवार उठाउने भन्ने टुङ्गो गर्न सकेनन् । 

बैठकपछि एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले भागबन्डाबारे छलफल नटुङ्गिएको बताएका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘हामीलाई जिरो नगर्नु’ भन्ने खालको प्रस्ताव आएको भन्दै छलफल पूर्ण रूपमा टुङ्गो नलागेको बताए । 

नेता पाण्डेले भने, ‘२० सिट खाली छ, त्यसमा एमाले पार्टीकै प्रतिनिधिहरू रहेको ९ सिट खाली छ । यसमा हामी कसरी जान्छौँ भन्ने खालको सल्लाह भयो । सल्लाह टुङ्गिएको छैन । प्रधानमन्त्रीलाई एमाले अध्यक्षले हामीले जिरो नगर्नु भन्ने खालको प्रस्ताव आयो भनेर बुझौँ, त्यसपछि हामीले यस बारेमा बुझेर मात्रै टुङ्गो गरौँ भन्ने छ । एमालेको प्रस्ताव के हो हामीलाई जिरो नगर्नु भनेपछि के हो माग, त्यो स्पष्ट भएको छैन । उताबाट त्यो स्पष्ट रूपमा आएपछि कुराकानी गर्न सजिलो हुन्छ ।’ 

यस्तै एमाले र कांग्रेसको आपसी सहमति भएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले त्यो सहमति ‘कन्डिस्नल’ रहेको बुझ्नुपर्ने बताए । 

बैठकमा भारतका विदेश मन्त्री आउने, भारतसँग भएका कतिपय सन्धिहरू छन् मध्य पञ्चेश्वर र महाकाली सन्धिका उल्लेख भएका कुरामा कसरी जाने त्यसको तयारी बारे प्रधानमन्त्रीले ब्रिफिङ गरेको पनि पाण्डेले जानकारी दिए ।