देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भारतीय विदेश मन्त्री जयशंकर काठमाडौंमा

देशान्तर

काठमाडौं ।  भारतीय विदेश मन्त्री एस जयशंकर काठमाडौं आइपुगेका छन् । उनी केही बेर अघि भारतीय वायु सेनाको विशेष विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।

विमानस्थलमा विदेश मन्त्री जयशंकरलाई परराष्ट्र मन्त्री एनपी साउदसहित परराष्ट्रका अधिकारीहरूले स्वागत गरेका छन् । विदेश मन्त्रीका रूपमा जयशंकरको यो दोस्रो नेपाल भ्रमण हो ।

यस पटक उनी नेपाल–भारत परराष्ट्र मन्त्री स्तरीय संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन नेपाल आएका हुन् । त्यस क्रममा विदेश मन्त्री जयशंकरको उपस्थितिमा नेपालबाट भारतमा आगामी दश वर्षमा १० हजार मेगावाट विद्युत् व्यापारका लागि सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी छ ।

उनको टोलीमा भारतीय विदेश मन्त्रालयका सचिव विनय मोहन क्वात्रा, नेपाल डेस्क प्रमुख अनुराग श्रीवास्तवलगायत उच्च अधिकारीहरू रहेका छन् ।

परराष्ट्र मन्त्री स्तरीय संयुक्त आयोगको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका बेला भएका सम्झौताहरू कार्यान्वयनका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विदेश मन्त्री जयशंकरले काठमाडौंमा रहँदा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष केपी ओलीलगायत नेताहरूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।