देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

१० वर्षसम्म पनि बनेन तमोर पुल

देशान्तर

पाँचथर । पाँचथर र तेह्रथुमलाई जोड्ने तमोर नदीमा निर्माणाधीन पुल ठेक्का लागेको १० वर्षसम्म पनि बनेको छैन । पुल निर्माणमा ढिलाइ भएको भन्दै स्थानीयबासीले आन्दोलनको चेतावनी दिएका छन् ।

दशकसम्म पनि पुल निर्माण नभएको भन्दै स्थानीयबासीले आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् । पुल नबन्दा दुवै जिल्लाका बासिन्दालाई आर्थिकरुपमा ठूलो नोक्सानी भएको उनीहरूको गुनासो छ ।

यहाँ पुल बनाउन सडक डिभिजन कार्यालय धनकुटाले स्वच्छन्द निर्माण सेवा काठमाडौंलाई २०७० सालमा ठेक्का दिएको थियो । सम्झौतामा ३ वर्षमा पुल निर्माण सम्पन्न गर्ने उल्लेख भएपनि निर्माण कम्पनीले १० वर्षसम्म ४० प्रतिशत पनि काम पूरा गरेको छैन ।

निर्माण कम्पनीले यति लामो समयसम्म पुल निर्माण अलपत्र पारेकोमा सरकारले समेत कुनै कदम चालेको छैन । निर्माण व्यवसायीको लापरबाहीमा राजनीतिक नेतृत्वले संरक्षण गरेको स्थानीयबासीको आरोप छ ।सडक डिभिजन कार्यालयका अनुसार पुलमा १६० मिटर लामो पुलमा ९२ मिटर ढलान र ५७ मिटरमा स्टिलको ट्रष्ट राख्ने सम्झौता छ ।

दुई लेनको पुल निर्माणका लागि स्वच्छन्द निर्माण सेवाले १५ करोड ३६ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता गरेको थियो ।सम्झौता अनुसार ०७३ सालमै निर्माण सम्पन्न हुनुपर्ने पुल १० वर्षसम्म आधा पनि भएको छैन । पुलमा २ वटा पिलर, ४ वटा स्ल्याप र ६० मिटर लम्बाइको ट्रस्ट निर्माण गर्न बाँकी नै छ ।

पुल निर्माणमा निर्माण कम्पनीले लापरबाही गरेको र कर्मचारी तथा राजनीतिक नेतृत्वको पनि मिलेमतो रहेको भन्दै दुवै जिल्लाका बासिन्दाले पटक–पटक पुल निर्माण सम्पन्न गर्न माग गर्दै आएका छन् । म्याङलुङका युवा अर्जुन ढुंगानासहितले त त्यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत दिएका छन् ।पुल निर्माण सम्पन्न गर्न जिल्लाका जनप्रतिनिधि, सरोकारवाला र राजनीतिक दलका नेताहरूले पटक पटक सिंहदरबारै पुगेर ध्यानाकर्षण गराएका छन् । तर न त पुल निर्माणको काम अघि बढेको छ, न त ठेक्का रद्ध गर्ने प्रक्रिया नै ।

पुल निर्माणमा कसैले पनि चासो नदिएपछि आफूहरूले आन्दोलनको तयारी थालेको म्याङलुङ्ग नगरपालिकाका मेयर सञ्जय तुम्बाहाङ्फेले बताए । ‘अबको एक साताभित्र पनि निर्माण कम्पनीले रोकिएको काम थालेन भने हामी विरोधका कार्यक्रम घोषणा गरेर अघि बढ्छौँ,’ उनले भने ।हालै जिल्लाका राजनीतिक तथा सामाजिक अगुवाहरूको टोलीले निर्माणाधीन पुल यथाशीघ्र सम्पन्न हुने सुनिश्चतता नगरेर आन्दोलन चर्काउने घोषणा गरेका छन् ।

पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद वसन्तकुमार नेम्वाङसमेतको टोलीले पुल निर्माण स्थलमै पुगेर पटक–पटक अनुगमन गरेको थियो । नेम्वाङले सदनमा समेत पुल निर्माणमा ठेकेदारले ढिलाइ गरेको बारेमा जानकारी गराएका थिए । तर अघिल्लो सरकारको पालामा उनै नेम्वाङ भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत बने । तर पनि उनकै तमोर नदीमा निर्माणाधीन पुल बनेनँ ।पुल निर्माण नहुँदा दुई जिल्लाका बासिन्दाले दुःख ब्यहोर्नु परिरहेको उद्योग वाणिज्य संघ याशोक पाँचथरका अध्यक्ष गोपाल पोखरेलले बताए ।

स्वच्छन्द निर्माण सेवाका सञ्चालक जयराम लामिछाने हुन् । उनी कांग्रेसका प्रभावशाली नेतासमेत हुन् । लामिछानले सुरुवातमा भारतीय नाकाबन्दी भएको, पछि बाढी पहिरो र कोरोनाका कारण समेत काममा प्रभाव परेको भन्दै पटक–पटक म्याद थप गराउँदै आएका छन् । हाल निर्माणस्थलमा ठेकेदार कम्पनीका प्रतिनिधिसमेत छैनन्, न त कामदार नै ।

तमोर नदीमाथि बनिरहेको यो पुलले पाँचथरको कुम्मायक गाउँपालिका र तेह्रथुमको म्याङलुङ नगरपालिकालाई जोड्नेछ । पाँचथरको सदरमुकाम फिदिम र तेह्रथुमको सदरमुकाम म्याङलुङ जोड्ने छोटो दूरीको यो पुल निर्माणपछि मेची र कोशी राजमार्गको सिधा सम्पर्कसमेत जोडिनेछ । तर तोकिएको समय भन्दा ७ वर्ष ढिला भइसक्दा पनि पुल निर्माणले गति लिन सकेको छैन ।