देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अधिवेशनको माग गर्दै नेविसंघ अध्यक्षको कार्यकक्षमा तालाबन्दी

देशान्तर

काठमाडौं । नेतृत्वले क्याम्पसहरुमा इकाई अधिवेशन गराउन तत्परता नदेखाएको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)का असन्तुष्ट नेताहरुले अध्यक्ष नैनसिंह महरको कार्यकक्षमा तालाबन्दी गरेका छन् । केही समयदेखि टेक्निकल कलेजहरुमा अधिवेशन सम्पन्न गर्न प्रतिनिधि पठाउन दबाब दिदै आएका सुमधुर बरालको नेतृत्वमा रहेको नेताहरुको एक टोलीले आज (सोमबार) नेविसंघ केन्द्रीय कार्यालय स्थित अध्यक्ष महरको कार्यकक्षमा तालाबन्दी गरेको हो ।

यही साउन २ गते थापाथली क्याम्पसमा नेतृत्वलाई अधिवेशन सम्पन्न गर्न दबाब दिने उद्देश्यले नेविसंघका असुन्तुष्ट नेताहरुको भेला सम्पन्न भएको थियो । उक्त भेलाले दुई वर्षभन्दा बढी समयदेखि अधिवेशन हुन नसकेका टेक्निकल कलेजमा विधिवत अधिवेशन सम्पन्न गर्नका लागि केन्द्रिय प्रतिनिधि तोक्न माग गर्दै नेतृत्वलाई साउन ३ गते ७२ घण्टे अल्टिमेटम दिएको थियो । नेविसंघ महामन्त्री कुन्दनराज काफ्लेले असन्तुष्ट विद्यार्थी नेताहरुको मागपत्र बुझ्दै छिट्टै निकास दिन अध्यक्षसँग छलफल गर्ने आश्वासन दिएका थिए । तर पहिलो ७२ घण्टे अल्टिमेटमको अवधिमा पनि नेतृत्वले आफ्ना मागबारे कुनै चासो नदेखाएछि थप ७२ घण्टाको अल्टिमेटम दिइएको तालाबन्दीको नेतृत्व गरेका नेविसंघ नेता बरालले बताए ।

‘माग पत्र बुझाउदै दुई दई पटक हामीले ७२ घण्टे अल्टिमेटम दिदा पनि नेतृत्वले हाम्रो मागको सुनुवाई नगरेकाले हामी तालाबन्दी गर्न बाध्य भयौं’, बरालले देशान्तरसग भने, ‘विभिन्न क्याम्पसका इकाई अध्यक्षहरुले अधिवेशनका लागि प्रतिनिधि पठाउन केन्द्रीय अध्यक्षलाई पत्र पठाएपनि अध्यक्षले वेवास्ता गर्दै अधिवेशन रोक्ने काम गर्नुभयो ।’ उनले आफूहरुको माग सम्बोधन नहुन्जेलसम्म तालाबन्दी जारी राख्ने बताए । ‘केन्द्रले चाडै प्रतिनिधि पठाएर हरेक टेक्निकल कलेजहरुमा विधिवत अधिवेशनका प्रक्रिया अगाडि नबढाएसम्म हामी तालाबन्दी जारी राख्छौं’, उनले भने ।