काठमाडौं । नेपालमा पोखरा घर भई हाल अस्ट्रेलियामा स्थायी बसोबास गर्ने युवा उद्यमी अजयसिंह ठकुरीले कलेजो, फियो र रक्तसञ्चारको समस्याबाट पीडित ८ वर्षीय बालक साकार डाँगीको उपचारका लागि सहयोग गरेका छन् ।
कलाकार दिनेश डाँगीका छोरा साकरको बारेमा देशान्तरमा प्रकाशित समाचारबाट प्रभावित भई ठकुरीले गत २१ गते आफ्नो जन्मदिनको अवसरमा पीडितलाई सहयोग गर्ने घोषणा गरेका थिए । सोही अनुरूप हिजो शनिबार २० हजार रुपैयाँ सहयोग गरेका हुन् । उक्त सहयोग रकम देशान्तरका प्रधानसम्पादक कविर राणा र गीतकारसमेत रहेका देशान्तरकर्मी लोकराज अधिकारीले डाँगी उपचाररत किष्ट मेडिकल कलेज पुगेर ठकुरीले पठाएको सहयोग रकम हस्तान्तरण गर्दै बालकको स्वास्थ्यलाभको कामना गरे ।
शारदा नगरपालिका सल्यान घर भई हाल काठमाडौंमा डीएस फिल्ममार्फत म्युजिक भिडियो उत्पादन र अभिनय गर्दै आएका दिनेशको परिवारले छोराको कलेजोको मेजर शल्यक्रियाका लागि सहयोगको याचना गरेका थिए । डाँगी परिवारले सहयोगप्रति आभार प्रकट गरेका छन् । उपचारमा ठूलो धनराशि खर्च भएको आफूसँग नभएपछि याचना गर्नु परेको तर सहयोगी दाताहरूको सहयोगले नै मेजर शल्यक्रिया सफल भएको उनले बताएका छन् ।
दिनेशले ‘मेरो माया फिलिमको हिरो’, ‘ब्युटी ब्युटी’, ‘दुःख पाको छु’, ‘मुगलान’, ‘दुई आत्मालाई’लगायतका बोलका गीतको म्युजिक भिडियोमा अभिनय गरेका छन् ।





प्रतिक्रिया