काठमाडौं । पश्चिम चितवनको मेघौलीमा रहेका थारू सामुदायको होमस्टे आन्तरिक तथा बाह्य पर्यटकहरूकोे रोजाइमा पर्न थालेका छन् । परम्परागत संस्कृतिको प्रदर्शन, स्थानीय उत्पादन, परम्परागत मौलिक खानपिनका कारण होमस्टे रोजाइमा परेको थारू सामुदायिक होमस्टे मेघौलीका अध्यक्ष सोमलाल महतोले बताएका छन् । बिदाको दिनमा सरकारी कर्मचारीहरू होमस्टेमा बस्नेगरी आउने गरेको र अन्य दिनमा पनि आन्तरिक र बाह्य पर्यटक आउने गरेको उनले बताए ।
थारू समुदायको खाना घोंगी ढिक्री, छिचर, फुलौरी, हाँसको मासु, स्थानीय माछालगायतका खाना र थारू समुदायमा प्रचलित नृत्यहरू लठ्ठी नाच, डम्फु नाचलगायतका प्रस्तुतिमा पर्यटकहरू रमाउने गरेको महतोले जानकारी दिए । नाच प्रस्तुत गर्नुभन्दा पहिले देखाउन खोजेको नाचबारे आगन्तुक पाहुनालाई जानकारी गराउने प्रचलन यहाँको विशेषता हो ।
आधुनिकताका नाममा ठाउँठाउँमा परम्परागत नृत्य हराउँदै गएका अवस्थामा यहाँका युवापुस्ता आफ्नो मौलिकताले युक्त थारू नृत्यलाई निरन्तरता दिएको थारू सामुदायिक होमस्टेका सञ्चालक वेदकुमार महतोले जानकारी दिए ।
चितवनको भरतपुर चौबीसबोठीदेखि २५ किलोमिटर पश्चिममा रहेको यस ठाउँमा स्वदेशी र विदेशी पर्यटक जंगल सफारीका लागि आउने गर्छन् । जंगल सफारीका क्रममा पर्यटकले दुर्लभ एकसिंगे गैँडा, बाघ, घडियाल गोहीजस्ता जनावर, चराचुरुंगी आदिको अवलोकन गर्न पाउँछन् ।
२०६७ माघ १० गतेदेखि मेघौलीमा थारू समुदायले होमस्टे सुरु गरेका हुन् । सातवटा घरमा रहेको होमस्टेबाट अहिले करिब ६० जना पाहुनालाई सेवा दिन सकिने व्यवस्था रहेको अध्यक्ष महतोले बताएका छन् । पछिल्लो एक वर्षको अवधिमा होमस्टेमा २,१४० स्वदेशी र १०० विदेशी पर्यटक आएको उनले जानकारी दिए । अहिले तत्काल तीनवटा घरमा होमस्टे थप गरेर १० वटा घरबाट पाहुनाको सत्कार गर्ने तयारी गरिएको उनले बताए ।
होमस्टेमा पर्यटकले एक रात बसेको १००० तिर्नुपर्छ । होमस्टेलाई वडा कार्यालय र नगरपालिकाले पनि सहयोग गरेका छन् । वडा कार्यालय र नगरपालिकाले आवश्यक परेको बेला बन्दोबस्तीका सामान पनि उपलब्ध गराउँदै आएका छन् ।
प्रशिक्षार्थी पत्रकार सुदीक्षा लामिछाने





प्रतिक्रिया