देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कृषि औजार कारखाना पुनः संचालन गर्न सांसद दीपक गिरीको माग

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद दीपक गिरीले महाविर पुनको नेतृत्वमा रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई सरकारले वाचा गरेको र कम तत्काल उपलव्ध गराउन आग्रह गरेका छन् । 

संघीय संसद्को शुक्रबार बसको बैठकमा विशेष समय लिएर सांसद गिरीले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुनले देशभर घुमेर आफ्नो जीवनीमा आधारित पुस्तक बेचेर तीन करोड रुपैयाँ संकलन गरेको बताउँदै कृषि औचार कारखानालाई पुनः सञ्चालन गर्नका लागि सरकारले बजेटमै प्रतिवद्धता गरेको रकम निकासा गर्न आग्रह गरेका हुन् ।

यसैगरी, दैनिक हजारौं युवाहरु देश छाडेर रोजगारी वा गुणस्तरीय शिक्षाको खोजीमा विदेश गइरहेको तर्फं इंगित गर्दै सांसद गिरीले उनीहरु विदेशीनुपर्ने कारण खोज्नु पर्नेमा जोड दिए । यसैगरी नेपाल दुई विशाल एशियाली मुलुकहरु चीन र भारतको बीचमा रहेको भन्दै चीन अमेरिका पछि संसारकै दोस्रो ठूलो अर्थतन्त्रको रुपमा रहेको र पाँचौं ठूलो अर्थतन्त्रको रुपमा रहेको भारत अबको ६ वर्ष भित्रै संसारको तेस्रो ठूलो अर्थतन्त्र बन्ने अनुमान गरिका बेला यी दुई ठूला अर्थतन्त्रको बीचमा रहेको नेपाल गरीब र मगन्त रही रहनु पर्ने कुनै कारण नै नभएको तर्क गरे।

यसैगरी नेपालको विकासमा नीजि क्षेत्रको भूमिका उल्लेख्य रहेको बताउँदै नीजि क्षेत्रलाई अहिले पुराना फाइल निकालेर तर्साउने काम बन्द गर्न पनि माग गरे । त्यसैगरी दंगाली जनताको भाग्य र भविष्यसँग जोडिएको टरिगाउँ एयरपोर्टमा एटीआर विमान सञ्चालन गर्न मिल्ने गरी धावनमार्ग विस्तार गर्न उनले सरकारसँग माग पनि गरे । 

सम्माननीय सभामुख महोदय,

म अहिले त्यस्तो सदनमा उभिएर बोलिरहेको छु, जहाँ बोलेको कुरालाई सरकारले सुन्न छाडेको छ।  म न्यायालयको बारेमा त टिप्पणी गर्न चाहन्न तर यो गरिमामय सदनमा जनताबाट निर्वाचित तथा आम जनसमुदायका प्रतिनिधिहरुले बोलेको कुरालाई महत्व नदिइनु दुखको कुरा हो।

सम्माननीय सभामुख महोदय,

केही महिना पहिले उखु किसानहरु चिनी मिललाई बेचेको उखुको पैसा नपाएको भन्दै काठमाडौँ आउनु भएको थियो। अहिले कैयौं साता पैदलै हिडेर मिटरब्याज पीडितहरु काठमाडौँ आउनु भएको छ।  हामी संघीय प्रणालीमा गएका छौं , तर आम जनताले आफ्नो समस्या लिएर भोकै, प्यासै यो जाडोमा किन   काठमाडौँ नै आउनु पर्ने? गाउँ गाउँमा सिंहदरबार भनेको के यही हो? म प्रश्न गर्न चाहन्छु।

सहकारी विभागका अनुसार अहिले नेपालमा एकतीस हजार भन्दा बढी सहकारी हरुमा झन्डै ७४ लाख सदस्य हरु आबद्ध छन्। ती मध्ये झन्डै १४ लाख सदस्यले खाइ नखाई आफुहरुले बचत गरेको रकम डुबेको गुनासो गरिरहेका छन्।  सहकारी पीडितहरुलाई न्याय दिलाउने जिम्मा पनि यो सरकारको हो। 

सहकारीकै कुरा गर्दा ग्यालेक्सी टीभीका अध्यक्ष रहेको  जीबी राई समूहले पोखराका १८ हजार बढी  बचतकर्ताको १ अर्ब ३५ करोड रकम हिनामिना गरेको निष्कर्ष पोखरा महानगरको अध्ययन समितिले निकालेको छ।  पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट गैरकानुनी रूपमा ऋण लिई अपचलन गरेको आरोपमा प्रहरीमा  जाहेरी परेको छ  ।जीबी राइ समूहले करिब उनन्पचास  हजार सर्वसाधारणको सात अर्ब रुपैयाँभन्दा बढी हिनामिना गरेको प्रहरीको अनुमान छ।  आम जनताको अरबौं रकम कहिले र कसरी फिर्ता हुने हो? दोषीहरुले कहिले सजाय पाउने हुन् ? सरकारले जवाफ दिनु प-यो। जुनसुकै दलमा लागेको  भए पनि, जति सुकै शक्तिशाली भए पनि सहकारीको पैसा हिनामिना गर्नेहरुलाई कडा कारवाही गर्न र पीडितहरुलाई उनीहरुको पैसा फिर्ता गराउन पनि म माग गर्दछु।  

सम्माननीय सभामुख महोदय,

म अहिले  सामाजिक अभियन्ता महावीर पुनलाइ सम्झन चाहन्छु।  उहाँले देशभरि घुमेर,  आफ्नो जीवनी बेचेर ३ करोड रुपियाँ संकलन गरि सक्नु भएको छ कृषि औजार कारखानालाई पुन: संचालन गर्नको लागि।  तर सरकारले प्रतिबद्धता गरेको  रकम समेत निकासा गरेको छैन।  त्यसैले कृषि औजार कारखानालाई पुन: संचालन गर्न नेपाल सरकारले उपलब्ध गराउने वाचा गरेको रकम राष्ट्रिय आविष्कार केन्द्र लाई उपलब्ध गराउन म माग गर्दछु ।

सम्माननीय सभामुख महोदय,

आज हामी इतिहासको एउटा गम्भीर मोडमा उभिएका छौं।  दैनिक हजारौं युवा देश छाडेर रोजगारी वा गुणस्तरीय शिक्षाको खोजीमा विदेश गइ रहेका छन्।  यदि हामीले यसको कारण खोजेनौ भने हामी इतिहासमै एउटा अक्षम पुस्ताको रुपमा चिनिने छौं।  म इतिहासको विद्यार्थी पनि हुँ।  त्यसैले केही देशहरु कसरि विकसित भए वा हुँदै छन् र हामी जस्ता कैयौं देश किन विकसित हुन सकेनन् भनेर हेर्ने पनि गर्छु।  प्रधान मंत्री प्रचण्ड लगायत सबै जसो नेताहरुले भ्रमण गर्ने गरेको मुलुक हो सिंगापुर।  सिंगापुरले कसरि छोटो समयमा फड्को मा-यो भनेर हे-र्यौं भने तीन कुरा हामी पाउछौं। 

सिंगापुरको विकासका लागि उसको भौगोलिक अवस्थिति, वैदेशिक व्यापार र इमान्दार सरकारलाई जस दिने गरिन्छ।  प्रधानमंत्रीको रुपमा झन्डै ३० वर्ष सिंगापुरको नेतृत्व गरेका ली क्वान युको दूरदर्शी नेतृत्वको त हामी छुट्टै चर्चा गरौंला। 

सम्माननीय सभामुख महोदय,

अब नेपालको भौगोलिक अवस्थितिको चर्चा गर्दा हामी दुइ विशाल एसियाली मुलुकहरु चिन र भारतको बीचमा छौं।  चिन. अमेरिका पछि  संसारकै दोश्रो ठूलो  अर्थतन्त्रको रुपमा छ भने भारत पाँचौं ठूलो अर्थतन्त्रको रुपमा।  S&P Global Ratings भन्ने संस्थाले आउँदो ६ वर्ष भित्रमै भारत संसारको तेश्रो ठूलो अर्थतन्त्र बन्ने अनुमान गरेको छ।  यी दुइ ठूला अर्थतन्त्रको बीचमा अवस्थित नेपाल गरीब र मगन्ते रही रहनु पर्ने कुनै कारण छैन।  हाम्रो वैदेशिक व्यापार घाटा १७ खर्ब नाघेको छ, जुन हाम्रो वार्षिक बजेटकै हाराहारी हो।

अब गरौँ दूरदृष्टि सहितको  इमान्दार सरकारको कुरा। राजाको शासन होस् वा गणतन्त्र, हाम्रो मुलुकमा कुनै पनि प्रधानमंत्रीले पांच वर्ष पुरा गर्न पाएका छैनन्।  प्रधानमंत्री मात्रै फेरिने हैन, हामी कहाँ नीतिगत अस्थिरता पनि छ।  भ्रस्टाचार बढी रहेकोमा कुनै शंका छैन।  मुलुकको समृद्धिमा निजी क्षेत्रको प्रमुख भूमिका हुन्छ, तर बर्षौं पुरानो फाइलहरु झिकेर निजी क्षेत्रलाई तर्साउने काम भै रहेको छ।  सरकार इमान्दार हुन सत्तारुढ हुन् वा प्रतिपक्ष हामी सबै इमान्दार हुनु पर्छ र त्यसको सुरुवात हामीले यही संसद भित्रैबाट गरौं। 

सम्माननीय सभामुख महोदय,

जेनेभामा बसोबास गर्ने एकजना राजनीतिक सिद्धान्तकार देलोल्मेले एक पटक भनेका थिए –   बेलायतको संसदले पुरुषलाई महिला वा महिलालाई पुरुष बनाउन सक्दैन , अरु जे पनि गर्न सक्छ।  संसदीय प्रजातन्त्रको जननी पनि भनिने बेलायतको संसदबाट हामीले धेरै कुरा सिकेका छौं। तर संसदलाई सशक्त बनाउन, सरकारलाई संसद प्रति उत्तरदाई बनाउन र संसदीय समितिहरुलाई सही मानेमा प्रभावकारी बनाउन किन हामीले सकीरहेका छैनौ ? समीक्षा गर्ने बेला आएको छ।

सम्माननीय सभामुख महोदय,

अन्त्यमा म मेरै निर्वाचन क्षेत्र दाङ्गको  टरिगाउँमा  विसं. २०११ सालमा स्थापित ऐतिहासिक विमानस्थलको चर्चा गर्न चाहन्छु।  दाङ्ग मात्रै हैन साविक राप्ती अञ्चलका अन्य जिल्लाहरुमा पनि पर्यटन, रोजगार र आर्थिक गतिविधि बढ़ाउन यो विमानस्थलको महत्वपूर्ण भूमिका हुनेछ।  त्यसैले कम्तीमा मध्यम खालका एटीआर विमान सञ्चालन गर्न मिल्ने गरी टरिगाउँ विमानस्थलको धावनमार्ग विस्तार गर्न सरकारसंग माग गर्न चहान्छु।

त्यस्तै स्वर्गद्वारी आश्रमको  गुठीका मोही  किसानहरू पनि अहिले आन्दोलनमा छन्।

उनीहरूले आफुले जोतभोग गर्दै आएको जमिनको लालपुर्जा माग गरि रहेका छन्। हाम्रो परम्परागत सम्पदा पनि नमासिने, गुठीको संरक्षण हुने  र किसानले आफ्नो हक अधिकार पाउने गरी जति सक्दो चाडो सर्व मान्य समाधान खोज्न म नेपाल सरकारसंग माग गर्दछु।

धन्यवाद, जय नेपाल !