देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रक्षामन्त्रीद्वारा जङ्गी अड्‍डाको निरीक्षण

देशान्तर

काठमाडौँ । रक्षामन्त्री हरि प्रसाद उप्रेतीले जङ्गी अड्डाको भ्रमण गरेका छन् ।  रक्षामन्त्रीमा नियुक्त भए पश्चात् उनले पहिलो पटक सोमबार जङ्गी अड्डा पुगेर नेपाली सेनाको बारेमा औपचारिक जानकारी लिएका हुन् । जङ्गी अड्‌डामा आयोजित कार्यक्रममा मन्त्री उप्रेती समक्ष नेपाली सेनाको सङ्गठनात्मक स्वरूप, तैनाथी, स्वदेश र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली सेनाले सञ्चालन गरिरहेका विविध गतिविधिहरूका बारे जानकारी गराइएको थियो ।

कार्यक्रमका क्रममा प्रधानसेनापति प्रभुराम शर्माले नव नियुक्त रक्षा मन्त्रीज्यूलाई बधाई ज्ञापन गर्दै नेपाली सेनाका सकलदर्जाको तर्फबाट जङ्गी अड्डामा स्वागत गरेका थिए । उनले संविधान प्रदत्त जिम्मेवारीका अलावा नेपाल सरकारबाट विधिसम्मत ढङ्गले प्राप्त विकास निर्माण लगायत विविध जिम्मेवारीहरू समयमानै पुरा गर्न नेपाली सेना सदैव कटिबध्द रहेको बताउँदै उक्त जिम्मेवारीहरू पुरा गर्ने क्रममा आई पर्ने चुनौतीहरूलाई नियमसम्मत रूपमा रक्षा मन्त्रालयबाट सम्बोधन हुँदै आई रहेको र सोको प्रभावकारी निरन्तरता हुनेमा विश्वस्त रहेको बताए । उनले नेपाली सेनाले विश्व शान्ति स्थापनार्थ गरिरहेका कार्यहरुले अन्तर्राष्ट्रिय जगतमा नेपाल र नेपाली सेना दुवैको साख बढाउनुका साथै सैन्य कूटनीति प्रवर्ध्दन एवम् अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा समेत सकारात्मक प्रभाव परेको बताए ।

साथै, संयुक्त राष्ट्रसंघसँगको सहकार्यलाई थप मजबुत र बृहत् बनाउन राष्ट्रिय रूपमै एकीकृत नीति/रणनीति अख्तियार गर्न आवश्यक रहेको समेत उल्लेख गरे । उनले बाह्य तथा आन्तरिक सुरक्षा प्रणालीलाई सुदृढ बनाई राष्ट्रको आधारभूत मूल्यमान्यताको रक्षा एवम् जनताको विकास र समृध्दिको अभिलाषालाई पूरा गर्न समेत नेपाली सेनाको समयानुकूल आधुनिकीकरण गर्दै लैजान आवश्यक रहेको बताए ।

कार्यक्रमको आरम्भमा बलाधिकृत रथी अशोकराज सिग्देलले स्वागत मन्तव्य व्यक्त गरेका थिए । त्यस अवसरमा रक्षा सचिव किरणराज शर्मा, रथीवृन्दका साथै रक्षा मन्त्रालय र नेपाली सेनाका अधिकृतहरूको उपस्थिति थियो ।