देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पत्रकार महासंघको गाईजात्रा

देशान्तर


नेपालीहरूको सांस्कृतिक पर्व गाईजात्रा आउन दुई महिना बाँकी रहे पनि लोकतान्त्रिक मुलुक नेपालका हरेक तह र तप्काको ‘वाच डग’को रूपमा रहेका पत्रकारहरू आफ्नै छाता संस्था नेपाल पत्रकार महासंघको चुनावको सन्दर्भमा भने अहिले गाईजात्रा देखाइरहेका छन् ।महासंघमा लोकतन्त्रवादी पत्रकारहरूको संस्था नेपाल प्रेस युनियनबाट गएकाहरूको दुई तिहाइ बहुमत हुँदा पनि अहिले सदस्यता विवादका कारण महासंघको २७औं महाधिशवेन अनिश्चित बनेको छ । सदस्यता शुद्धीकरणको नाउँमा गत कात्तिकमा पहिलो पटक सदस्यताको सूची सार्वजनिक भएपछि परेका उजुरीहरूको समयमै निरूपण नहुँदा अहिले चुनावको मुखमा पत्रकार महांसघमा तालावन्दी हुन पुगेको हो ।


महासंघको नेतृत्वमा प्रेस युनियनबाटै टिकट पाएर जितेर गएकाहरू नै अहिले फेरि लाभको पदमा रहिरहनका लागि गरिरहेका हर्कतका कारण पनि महासंघ लथालिंग हुन पुगेको लोकतन्त्रवादी देशभरका पत्रकारहरूले बताउन थालेका छन् । पत्रकार महासंघका अध्यक्षसहित अहिलेका पदाधिकारीलाई प्रेस युनियनले सदस्यताको विषयमा पटकपटक असन्तुष्टि जनाउँदा छलफलमार्फत टुंग्याउने बताए पनि महासंघको निर्वाचन समितिले एकलौटी रूपमा यसअघि आएको सूचीलाई अन्तिम मतदाता नामावली भनेर सार्वजनिक गरेपछि प्रेस युनियनले शुक्रबार राति नै तालाबन्दी गरेको थियो । प्रेस युनियनको तालाबन्दीपछि नेपाल पत्रकार महासंघको निर्वाचन दोस्रोपटक पनि स्थगित हुने संघारमा पुगेको छ । जेठ २२ गते मतदानको मिति तोकिएकोमा हिजो असार १५ मा मनोनयनको कार्यतालिका रहेको थियो । चिरञ्जीवी खनाल संयोजक रहेको अध्यक्ष मण्डलले निर्वाचन तालिका सार्वजनिक गरे पनि नेपाल प्रेस युनियनलगायतका संस्थाहरूको विरोध आन्दोलन र तालाबन्दीका कारण निर्धारित तालिकाअनुसार कार्य अघि बढ्न नसकेपछि शनिबार निर्वाचन मण्डलले अब तत्काल निर्वाचनको कार्यक्रम अघि बढ्न नसक्ने जानकारी गराएको थियो ।

अहिलेको कार्यसमितिमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, सचिव र कोषाध्यक्षसहितका महत्वपूर्ण पदमा प्रेस युनियनबाटै गएका व्यक्तिहरूका बीचमा नै आपसी तालमेल नहुँदा प्रेस सेन्टरबाट गएका महासचिवले अहिले यो भद्रगोल पारेको भन्दै ती पदाधिकारीहरू पन्छिन खोजेका छन् ।यता सहमतिविपरीत महासंघको नेतृत्व अघि बढेको भन्दै युनियन तालावन्दीसहित आन्दोलनमा उत्रेको छ । युनियनले महासंघको निर्वाचन प्रक्रियामा सहभागी नहुने चेतावनी समेत दिएको छ । नेपाल पत्रकार महासंघको सदस्यता विवादलाई विधानअनुसार टुंग्याउन पत्रकार महासंघको नेतृत्वले उदासीनता देखाएको प्रति युनियनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

युनियनले आफ्ना सबै शाखा, प्रदेश समितिहरूलाई महासंघको अवैधानिक र गलत कार्यविरुद्धमा देशभर महासंघका शाखा तथा प्रदेश समितिमा तालाबन्दी गरी आन्दोलनका कार्यक्रम अघि बढाउन निर्देश पनि गरिसकेको युनियनका महासचिव दिलीप पौडेलले जानकारी दिए । महासचिव पौडेलले शनिबार विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघको सदस्यता विवादलाई विधानअनुसार टुंग्याएर निर्वाचन प्रक्रिया अघि बढाउन पटक–पटक आग्रह गर्दा पनि जबरजस्ती रूपमा मतदाता नामावली सार्वजनिक गरी ‘निरंकुश’ शैलीमा निर्वाचन गराउने प्रयत्न गरेकोमा आपत्ति जनाएको छ ।
महासंघले प्रेस युनियनको माग सम्बोधन नगरेसम्म महासंघको केन्द्र, सबै शाखा तथा प्रदेश तथा प्रतिष्ठान समितिका कार्यालयमा तालाबन्दी गरेर आन्दोलनमा उत्रिन युनियन बाध्य भएको जनाइएको छ । यता, निर्वाचन समितिले शनिबार नै सूचना जारी गर्दै असहज परिस्थितिमा निर्वाचन प्रक्रिया अगाडि बढाउन नसक्ने जनाएको छ । तर समितिले असार २२ गतेको निर्वाचन भने नरोकिने सूचनामा उल्लेख गरेको छ । यसअघि पनि विभिन्न संगठनहरूले तालाबन्दीलगायतका कार्यक्रम गरेका थिए ।
महासंघको सदस्यता विवाद सुल्झाएर सबैको स्वीकार्यता नहुँदासम्म निर्वाचन प्रक्रियाअघि नबढाउन नेपाल पत्रकार महासंघ र महासंघको निर्वाचन समितिलाई युनियनले आग्रह गरेको थियो । युनियनले गरेको तालाबन्दी प्रेस चौतारी र प्रेस सेन्टरका कार्यकर्ताहरूले फुटाएका थिए ।
महासंघको वर्तमान नेतृत्वको रवैयाप्रति महासंघका सदस्यहरू पनि आक्रोशित छन् । नेपाल प्रेस युनियनकै टिकटमा महासंघमा पुगेका र हाल पनि प्रेस युनियनबाट गएकाहरू अहिलेको चुनावी प्रक्रियामा हालिमुहाली गर्नेहरू आफ्नो जागिर टिकाउन र आउँदा दिनका लागि जागिर सुरक्षित गर्ने मनशायले अहिलेको कम्युनिस्ट गठबन्धनसँग साँठगाँठ गरिरहेको प्रेस युनियनकै पत्रकारहरूका बीचमा चर्चा हुन थालेको छ ।