देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गण्डकीमा डेङ्गुबाट सातको मृत्यु

देशान्तर

गण्डकी प्रदेशमा डेङ्गु सङ्क्रमणबाट हालसम्म सात जनाको मृत्यु भएको छ, जसमा तीन पुरुष र चार महिला रहेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार, सबैभन्दा पहिला गत साउन १० गते तनहुँका ४८ वर्षीय पुरुषको डेङ्गुका कारण मृत्यु भएको थियो। त्यसपछि कास्की र म्याग्दी जिल्लामा क्रमशः साउन र भदौ महिनामा अन्य मृत्युलाई पुष्टि गरिएको छ।

कास्कीको पोखरा महानगरपालिका डेङ्गु सङ्क्रमणबाट सबैभन्दा प्रभावित भएको छ, जहाँ हालसम्म ६,४५२ जनामा डेङ्गु पुष्टि भइसकेको छ। गण्डकी प्रदेशमा यो वर्ष जनवरीयता १२,७२६ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ। प्रदेशका अन्य जिल्लाहरूमा पनि डेङ्गुका बिरामीहरू देखिएका छन्, जसमध्ये तनहुँमा २,८६१, पर्वतमा १,१४६ र गोरखामा ६६४ जना संक्रमित छन्।

डेङ्गुको सङ्क्रमण असारदेखि कात्तिक महिनासम्म बढी जोखिमयुक्त हुने चिकित्सकहरूले बताएका छन्। चार प्रकारका भाइरसबाट फैलिने यो रोग एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ। लामखुट्टेले सफा पानीमा फुल पार्ने भएकाले पानी जम्नसक्ने ठाउँहरूलाई खाली राख्न र उचित स्वास्थ्य सचेतना अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन्। डेङ्गुबाट बच्न नियमित रूपमा पानीका भाँडाहरू खाली गर्न, पुराना टायर र ड्रमजस्ता ठाउँमा पानी जम्न नदिन विशेष ध्यान दिनुपर्ने हुन्छ।

डेङ्गुका लक्षणहरूमा एक्कासि उच्च ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने, र रक्तस्राव हुने जस्ता समस्या देखिन्छन्, र समयमा उपचार नपाए यसले ज्यान लिनसक्ने भएकाले सचेत रहनुपर्ने सुझाव दिइएको छ।