देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अबको अभियान पार्टीलाई गुटरहित बनाउने हो : डिला

देशान्तर

धनकुटा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले आज धनकुटाको भेडेटारमा सागुरीगढी गाउँपालिकास्तरीय विशेष अभियानको उद्घाटन गर्दै यस अभियानले पार्टीलाई गुट रहित बनाउन सहयोग पुग्ने र कांग्रेसलाई अझै सशक्त बनाउँदै पूर्ण एकता कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने बताएकी छिन् । उनले अभियानले पार्टीलाई सक्रिय बनाउन र जनताको घर-आँगनसम्म पुग्न मद्धत गर्ने विश्वास व्यक्त गरिन्।

उद्घाटन समारोहमा नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राईले कांग्रेसले आगामी निर्वाचनमा पालिका र वडास्तरीय उम्मेदवार चयन गर्न मुल्यांकनको परिपाटी निर्माण गर्ने बताए। उनले जिल्लाका सबै वडामा घर-आँगन कार्यक्रम अभियान प्रभावकारी रुपमा अघि बढ्नेमा आफू विश्वस्त रहेको बताए।

नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव तथा सागुरीगढी गाउँपालिकाका संयोजक विजय सन्तोषी राईले कांग्रेसको १०० दिने विशेष अभियानको उद्देश्यबारे प्रस्ट पार्दै वडामा खटिएका जिल्ला प्रतिनिधिहरुले वडा-स्तरमा नागरिकहरुको समस्याको संकलन गरेर समाधानको लागि काम गर्ने बताए। उनले अभियानले जनताको घर-घरमा पुगेर कांग्रेसलाई जनतासँग नजिक ल्याउने बताए।

सागुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले कांग्रेसले सागुरीगढी गाउँपालिका विजय प्राप्त गरेपछि जनताको चाहना र आवश्यकताअनुसार लोकप्रिय कामहरू गर्दै आएको बताए। उनले पालिकाभरिका नागरिकको विश्वास जित्न कांग्रेसको यो अभियान थप प्रभावकारी हुने विश्वास व्यक्त गरे।

कार्यक्रम सागुरीगढी गाउँपालिका कार्य समितिका सभापति नेपालधन राईको अध्यक्षतामा सम्पन्न भएको थियो। वडा नम्बर ३ का संयोजक चन्द्र याक्खाले स्वागत मन्तव्य राखे भने कार्यक्रमको सञ्चालन वडा नम्बर १० का संयोजक तथा क्षेत्रीय उपसभापति नगेन्द्र राईले गरेका थिए। विभिन्न वडाका संयोजकहरूले आफ्नो वडा तथा टोलटोलमा अभियानलाई भव्य रूपमा सम्पन्न गर्ने प्रतिबद्धता जनाए।

उक्त कार्यक्रमको समापनमा सागुरीगढी गाउँपालिका नेपाली कांग्रेसका वडा सभापतिहरू, नेपाल तरुण दलका सदस्यहरू, तथा स्थानीय जनप्रतिनिधिहरूले पनि अभियानलाई सफल बनाउन सक्रियपूर्वक लाग्ने प्रतिबद्धता जनाए।

नेपाली कांग्रेसको १०० दिने विशेष अभियान अन्तर्गत धनकुटाका ६० वडामा कार्तिक १० गतेदेखि वडा-स्तरीय विशेष अभियान सञ्चालन हुने जानकारी जिल्ला सचिव विजय सन्तोषी राईले दिए।