देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पिएल प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा : देउवा

देशान्तर


काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौँ महानगरपालिका पूर्वप्रमुख पिएल सिंह मुलुकको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा भएको र जनसम्पर्क एवं लोकप्रियताका आधारमा समकालीन नेताहरुमा धेरै अगाडि रहेको बताएका छन् ।


नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौँद्वारा स्वर्गीय सिंहको १३औँ पुण्यतिथिमा आज आयोजित श्रद्धाञ्जलीसभामा पूर्वप्रधानमन्त्री देउवाले प्रजातान्त्रिक आदर्श तथा सिद्धान्तप्रति प्रतिबद्ध पिएलले लौहपुरुष गणेशमान सिंहको परिवारको मात्र नभई सम्पूर्ण काठमाडौँवासीको सेवामा आफ्नो जीवन समर्पण गरेको बताए । नेपाली कांग्रेसको संस्थागत साङ्गठनिक विकासमा उनले निर्वाह गरेको भूमिकाको सराहना गर्दै स्वर्गीय सिंहले देखाएको बाटोमा इमान्दार भएर लाग्न पार्टीका नेता तथा कार्यकतालाई आह्वान गरे । कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले प्रजातान्त्रिक सिद्धान्त र आदर्शको राजनीतिलाई सिंहले निष्ठाका साथ अनुशरण गरेको बताए ।


स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मुलुकको लोकतान्त्रिक आन्दोलनमा स्वर्गीय नेता सिंहले निष्ठाको राजनीति गर्ने आदर्श योद्धाका रुपमा आफूलाई स्थापित गरेको बताए । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले जनताका अधिकारका लागि सधैँ अग्रमोर्चामा रही स्वर्गीय सिंहले राजनीति गरेको बताए । नेपाली कांग्रेसका नेताहरु राजेन्द्र केसी, सबुजकृष्ण बानियाँ, भीमसेनदास प्रधान, गोकर्ण केसी र जीवन डङ्गोललगायत वक्ताले काठमाडौँ उपत्यकामा पार्टीको सङ्गठन विस्तार कसरी गर्ने भन्ने शिक्षा स्वर्गीय सिंहबाट लिनुपर्ने बताए । विसं २०५२ मङ्सिर २९ गते काठमाडौँ नगरपालिकालाई पिएल सिंहको नेतृत्वमा महानगरपालिका घोषणा गरिएको थियो ।