देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विपक्षी दलहरूले सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने

देशान्तर

काठमाडौं । विपक्षी दलहरूले सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छन् । बिहीबार प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)को संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले सरकारले गलत विधि र प्रक्रियामार्फत अध्यादेश ल्याएकाले अस्वीकार गर्ने निष्कर्ष निकालेको हो । विपक्षी दलहरूले सरकारले जनतालाई छिटो सेवा दिन अध्यादेश ल्याएको भन्ने दाबी गरे पनि त्यो कुरा खण्डित भएको ठहर गरेका छन् ।


साथै उनीहरुले राष्ट्रियता, जनजीविका र महंगी नियन्त्रणलगायतका विषयमा आगामी संसदमा सशक्त आवाज उठाउने भएका छन् । शुक्रबारदेखि सुरू हुने संसदको हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न विपक्षी दलहरूको बैठक बोलाइएको हो ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड‘, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डिपी अर्याल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राप्रपा नेता ध्रुवबहादुर प्रधान, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र यादव, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायत नेताहरूको सहभागिता थियो । विपक्षी दलहरूले सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्ने निष्कर्ष पनि निकालेको छ ।