देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज १४ औं निजामती सेवा दिवस, सर्वोत्कृष्ट कर्मचारी नै भेटिएनन्

देशान्तर

काठमाडौं । आज १४ औं निजामति सेवा दिवस निजामति कर्मचारीले कार्यक्रम गरी मनाउँदैछन् । ‘निजामती सेवाको प्रतिबद्धता, पारदर्शीता र चुस्तता’ भन्ने मूल नाराका साथ आज दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा विहान प्रभातफेरीको आयोजना गरिएको छ । नेपालमा निजामति सेवा गठन भएको ६० वर्ष पूरा भए पनि २०६२ साल भदौ २२ गतेबाट मात्र औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो । विक्रम सम्वत् २०१३ साल भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामति दिवस मनाउन थालिएको हो । अहिले नेपालमा करिब ८३ हजार निजामती कर्मचारी कार्यरत छन् ।

निजामति सेवामा उत्कृष्ट काम गरेका ४० जना कर्मचारीलाई सरकारले पुरस्कारको व्यवस्था गरेको छ । सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेका अनुसार उत्कृष्ट निजामती सेवा पुरस्कार १० र निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गर्न गरिने छ । दुई लाख राशि भएको ‘सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार’ भने यस वर्षको कसैलाई पनि नदिइने उनले बताए । सर्वोत्कृष्टका लागि नाम आए पनि उपयुक्त नठानिएकाले नदिइएको उनको भनाइ छ ।

एक लाख राशिको उत्कृष्ट निजामती सेवा पुरस्कार पाउनेमा सहसचिव दीपक सुवेदी, सहसचिव डिल्लीराज घिमिरे, सहसचिव केवलप्रसाद भण्डारी, उपसचिव प्रेमलाल लामिछाने, महालेखा परीक्षकको कार्यालयका निर्देशक इन्द्रप्रसाद आचार्य, उपसचिव जीवनप्रसाद सेढाईं, उपसचिव जगन्नाथ बराल, उपसचिव लक्ष्मीदत्त कलौनी, उपरजिस्ट्रार प्रल्हादकुमार योगी र सहायक प्रमुख जिल्ला अधिकारी सोलुखुम्बुका अनिल खनाल छन् । पुरस्कृत हुनेहरुलाई अनुकूल समयमा पुरस्कार प्रदान गरिने छ ।

मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्रीको संयोजकत्वमा पाँच सदस्यीय पुरस्कार छनोट समिति गठन गरिएको थियो । समितिको सिफारिसको आधारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पुरस्कार पाउने कर्मचारीको निर्णय गरेको हो ।