काठमाडौं । आन्दोलनरत शिक्षकहरूसँग हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको छलफलले सार्थकता पाउन सकेन । करिब २ घन्टा चलेको छलफलमा महासंघको तर्फबाट चालु आन्दोलन, शिक्षक–कर्मचारीका माग मुद्दा र विद्यालय शिक्षा ऐन जारीलगायत विषयमा कुरा भएको थियो ।
वार्तामा कुरा नमिलेपछि शिक्षकहरूले जारी प्रदर्शनलाई आज पनि निरन्तरता दिने भएका छन् । शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले समग्र परिस्थितिको मूल्याङ्कन गर्दा अझै आन्दोलनको मोर्चा डटिरहनु पर्ने अवस्था आएको उल्लेख गरेका छन् ।
वार्तामा प्रधानमन्त्रीले सरकारले सम्बोधन गर्न सक्ने कुराबारे सल्लाह गरेर निर्णय लिने तथा ऐन जारी गर्न तदारुकता दिने कुरा गरेका थिए । शिक्षकहरूले त्यसपछि राति ११ः३० बजे सभामुख देवराज घिमिरेसँग भेट गरेका थिए । सभामुख घिमिरेसँगको भेटमा विद्यालय शिक्षा विधेयक छिटो जारी गर्ने विधि र उपायबारे छलफल भएको सुवेदीले जानकारी दिए ।
हिजो प्रधानमन्त्री र सभामुखसँग भएका कुराकानीबारे आजको विरोध प्रदर्शनमा जानकारी गराउने पनि सुवेदीले बताए । सधैँझैँ ठिक १२ः०० बजे माइतीघर मण्डलामा आउन उनले शिक्षकहरूलाई आग्रह पनि गरे ।
‘हामी एक–दुई सानातिना मागहरूको लेनदेन गरी फर्किन आन्दोलनमा आएका होइनौँ । विगतका सहमति सम्बोधन हुने अग्रगामी ऐन नै हाम्रो लक्ष्य हो । आजको विरोध सभामा हिजो भएको भेट बारे सबै कुरा साथीहरू बीच राखिने नै छ । परिस्थितिको समग्र मूल्यांकनका लागि तहगत छलफलहरू गरिनेछ,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
उनले भने, ‘हामीले हिजोका दिनमा जे जे पाएका हौँ आन्दोलनको बलमा नै पाएका हौँ । अब पनि जे पाउने छौँ, त्यो आन्दोलनकै बलमा पाउनै छौँ । यो सत्यलाई हृदयंगम गरौँ ।’
मर्यादित, संयमित र अनुशासित भएर आन्दोलनको मोर्चामा डटिरहन उनले शिक्षकहरूलाई आग्रह समेत गरेका छन् ।





प्रतिक्रिया