देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

माओवादीले चुनाव नजिते उपलब्धि गुम्ने खतरा:  अध्यक्ष दाहाल

देशान्तर

सिरहा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीले चुनाव नजिते अहिलेसम्मका उपलब्धिसमेत गुम्न सक्ने खतरा रहेको बताएका छन् । सिरहाको धनगढीमाई नगरपालिकास्थित धनगढी बजारमा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले संघीयता, समावेशीता, धर्मनिरपेक्षता माओवादीको ठूलो त्याग र बलिदानीबाट मात्र प्राप्त भएको र त्यसलाई संस्थागत माओवादीले मात्र गर्न सक्ने दाबी गरे ।

संघीयता विरोधी, समावेशीता विरोधी र धर्मनिरपेक्षता विरोधी पार्टीलाई मत दिएर ठूलो बनाए नेपाली जनताको बलिदानीबाट प्राप्त उपलब्धि उल्टिने र पुनः २०४६–४७ सालको अवस्थामा मुलुक फर्किने खतरा रहेको समेत उनले बताए ।

पूर्वप्रधानमन्त्री दाहालले भने, “संघीयता, समावेशीता, धर्मनिरपेक्षता ल्याउने परिवर्तनकारी शक्ति माओवादीलाई मत दिने कि संघीयता विरोधी, समावेशीता विरोधी पार्टीलाई मत दिने हो, त्यसको साँचो अहिले मधेशी जनताको हातमा आएको छ । त्यसैले यो अवसरलाई सही ढंगबाट सदुपयोग गर्नुहोला ।” मधेसको सच्चा हिमायती आफ्नो पार्टी मात्र रहेको दाबी गर्दै अध्यक्ष दाहालले माओवादीप्रति आकर्षण बढेकै कारण ठूलो संख्यामा मधेशी नेता आफ्नो पार्टीमा प्रवेश गरिरहेको उल्लेख गरे ।

आफू दश महिना प्रधानमन्त्री रहेका बेला मधेशलाई विश्वासमा लिन र त्यहाँका जायज माग सम्बोधन गर्न धेरै मिहिनेत गरेको बताउँदै उनले मधेशी जनताको भावनाको सम्बोधन गर्नुका साथै मधेशी दलको असन्तुष्टि सम्बोधन गर्न र निर्वाचनमा ल्याउन आफूले ठूलो भूमिका निर्वाह गरेको दाबीसमेत गरे ।

तराई, पहाड र हिमाललाई जोडेर राष्ट्रिय विकासलाई अगाडि बढाउन आफूले गरेको प्रयासको परिणाम राम्रो आएको पनि अध्यक्ष दाहालले बताए । कार्यक्रममा माओवादी केन्द्रका तर्फबाट धनगढीमाई नगरपालिका प्रमुख पदका उम्मेदवार हरिनारायण चौधरी र उपप्रमुखका उम्मेवार फुलकुमारी श्रेष्ठले आफूहरु चुनाव जिते नगरपािलकालाई सुन्दर, सफा र पर्यटकीय नगरीका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।