देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नगर प्रहरी प्रमुख पाण्डेलाई प्रशासकीय अधिकृतको स्पष्टीकरण

देशान्तर

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले नगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक (एसएनएसपी) राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधेका छन्।

गुरागाईंले कार्यालयमा हाजिर हुन खोज्दा पाण्डेले अवरोध गरेको भन्दै सात दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिइएको छ। “म कार्यालय हाजिर गर्न जाँदा भएको घटनालाई लिएर उहाँलाई स्पष्टीकरण सोधिएको हो,” गुरागाईंले भने।

महानगर प्रहरी ऐन, २०८० अनुसार नगर प्रहरी बल महानगरको प्रमुख प्रशासकीय अधिकृतको मातहत रहने प्रावधान छ। गुरागाईं गत पुस ७ गतेदेखि बिदामा थिए र चैत २१ गते पुनः कार्यालय हाजिर हुन पुगेका थिए। सो दिन पाण्डेले कार्यालय प्रवेशमा अवरोध पुर्‍याएको आरोप छ।

गुरागाईंका अनुसार उनले प्रयोग गर्ने सरकारी गाडीमा ‘ह्विल लक’ लगाइएको, कार्यालय प्रवेशमा अवरोध गरिएको, जनप्रतिनिधिलाई अमर्यादित व्यवहार गरिएको, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइएको र हाजिर पुस्तिका कब्जामा लिइएको जस्ता कार्यहरूमा स्पष्टीकरण सोधिएको हो।

“कानुनअनुसार नगर प्रहरी प्रमुख प्रशासकीय अधिकृतको मातहत रहने व्यवस्था छ,” गुरागाईंले भने, “उक्त दिनको घटनाबारे सम्पूर्ण तथ्य बुझेर कानुनी प्रक्रिया अनुसार अघि बढाइएको हो।”