देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

‘टेक एन्ड पे’को विषय संशोधन गर्नेगरी छलफल भइरहेको छ : मन्त्री खड्का

देशान्तर

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बैंक तथा वित्तीय संस्थाले ‘टेक एन्ड पे’को विषयलाई लिएर जलविद्युत् क्षेत्रमा लगानी नगर्नुपर्ने कुनै कारण नरहेको बताएका छन् ।

अपि पावर लिमिटेडको सहायक कम्पनी दार्चुला पावर कम्पनीले दार्चुलामा निर्माण गर्न लागेको मध्य चमेलिया (२८.३ मेवा) जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन समारोहमा उनले बजेटमा राखिएको ‘टेक एन्ड पे’को विषयलाई लिएर लगानी नगर्नुपर्ने कुनै कारण नभएको बताए ।

‘बजेटमा ‘टेक एन्ड पे’ को शब्दले प्रवेश पाएपछि वित्तीय व्यवस्थापन कसरी होला भन्ने चिन्ता लिनुभएको होला, नआत्तीकन लगानी गर्नुहोस्, उक्त प्रस्ताव ऊर्जा मन्त्रालयको होइन, सो प्रस्तावलाई संशोधन गर्न अर्थ मन्त्रालयसँग छलफल भइरहेको छ,’ मन्त्री खड्काले भने ।

ऊर्जामन्त्री खड्काले सरकारले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले उक्त लक्ष्य पूरा गर्न निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताए । ‘उत्पादन गर्नुपर्ने स्रोत हामीसँग छ, बजार हामीसँग छ, लगानी किन नगर्ने ?’ उनले भने ।

ऊर्जा क्षेत्रका बाधक कानुन र सोचलाई परिवर्तन गर्दै सरकार अगाडि बढ्न चाहेको उनको भनाइ छ । मन्त्री खड्काले नेपालमा भएका स्रोतको उच्चतम सदुपयोग गरेर गरिब तथा विपन्न नागरिकलाई समृद्धि बनाउने बाटोमा सरकार लागिरहेको बताए ।

उनले मध्ये चमेलिया जलविद्युत् आयोजनालाई समयमै सम्पन्न गर्न आग्रह गरे । ‘आयोजना समयमा सम्पन्न गर्न सकियो भने बढी लाभान्वित हुन पाइन्छ, जति लामो समय भए त्यति ब्याज बढ्ने र लाभ लिन समय लाग्ने, हुन्छ, समयमै काम सम्पन्न गर्नुस्,’ उनले भने ।

पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले आयोजना निर्माणसँगै सिंगा मुलुक र दार्चुलावासीले लाभ पाउने विश्वास व्यक्त गरे । उनले निजी क्षेत्रलाई प्रसारण लाइन निर्माणमा ल्याउन सके उत्पादित विद्युत् खेर नजाने बताए । आगामी दिनमा पनि दार्चुलामा लगानी गर्न उनले लगानीकर्तालाई आग्रह गरे ।

नेपाल बैंकको अगुवाइमा निर्माण हुन लागेको उक्त आयोजनामा नबिल बैंकले पनि लगानी गर्ने प्रतिबद्धता जनाएको छ । पाँच अर्ब ६६ करोड लगानीमा निर्माण हुन लागेको उक्त आयोजना आगामी डेढ वर्षभित्र सम्पन्न गर्ने कम्पनीका अध्यक्ष सञ्जीव न्यौपानेले जानकारी दिए ।