देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बारामा एमाले उम्मेदवारकै नागरिकता खारेज, अब के हुन्छ उम्मेदवारी ?

देशान्तर

काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाराले स्थानीय तहको निर्वाचनमा निजगढ वडा नम्बर ४ का उम्मेदवार जयराम कुनवरको दोहोरो नागरिकता खारेज गरेको छ। कुनवरले दोहोरो नागरिकता लिएको पाइएकोले शनिबार खारेज गरिएको बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले जानकारी दिए। कुनवरले १४ वैशाख २०६० मा पहिलोपटक इलाका प्रशासन कार्यालयबाट जयराम कुँवरको नाममा ९६७३ नम्बरको नागरिकता लिएको र दोस्रो पटक जयराम कुनवर नाममा २१ माघ २०६३ मा घुम्ती टोलीमार्फत ३३३१०११/ ५९९ नम्बरको नागरिकता लिएका थिए।

जुन नामले उम्मेदवारी दिएको सोही नामको नागरिकता खारेज गरिएकाले उनको उम्मेदवारी रद्द हुनेछ। निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले निर्वाचन अधिकृतको कार्यालयबाट पत्र आएपछि आयोगले कानुनअनुसार निर्णय लिने जानकारी दिए। निजगढ नगरपालिकाको वडा नम्बर–४ मा कनुवरले एमालेको तर्फबाट वडाध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्। दाबी विरोधको दिन कुवरमाथि दोहोरो नागरिकता लिएको उजुरी नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षका उम्मेदवार सुनिल चौधरीले गरेका थिए।

कुनवरले किर्ते गरेर दुई पटक गरी दुईवटा छुट्टा–छुट्टै नम्बर र थर भएको नागरिकता लिएको भन्दै कांग्रेसका वडा अध्यक्षका उम्मेदवार चौधरीले उजुरी दिएका थिए। नागरिकताको विषयमा उजुरी परेपछि निर्वाचन अधिकृतको कार्यालयले इलाका प्रशासन कार्यालय र जिल्ला प्रशासन कार्यालय बारा कलैयालाई पत्र लेखेको निजगढका निर्वाचन अधिकृत गोविन्दराज गौलीले जानकारी दिए। राजधानी दैनिकमा समाचार छ ।