देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रसुवागढीमा बाढी ‘हिमताल विस्फोट’का कारण : प्राधिकरण

देशान्तर

काठमाडौँ । रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर–२ स्थित रसुवागढीमा एक्कासि बाढी आउनुमा ‘हिमताल विस्फोट’ मुख्य कारण रहेको विपद् प्राधिकरणले जनाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले बुधवार पत्रकार सम्मेलन गरेर ‘ग्लेसियल लेक’ विस्फोट भएर एक्कासी बाढी आएको प्रारम्भिक अध्ययनको निष्कर्ष सुनाए । उनले भने, ‘बाढी ह्वात्तै आएर नदीको उचाई एकै पटक साढे ३ मिटर बढेको छ ।’

वर्षाको कारण बाढी आउँदा एक्कासी नदीको उचाई साढे ३ मिटर नबढ्ने उनले बताए ।उपग्रह तस्बिरको विश्लेषण गर्दा चीनबाट आउने लेन्दे नदी भन्दा माथिको भागमा हिमतालहरू देखिएका छन् । सो हिमताल विस्फोट भएर बाढी आएको प्राधिकरणको प्रारम्भिक निष्कर्ष छ । भट्टले भने, ‘अचानक बाढी आउनुको कारण जलवायु परिवर्तन हो तर, हामी अध्ययनको क्रममा छौँ ।’

असार २४ मा बिहान आएको लेन्दे खोलाको बाढी भोटेकोशीमा मिसिँदा नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । बाढीका कारण १९ जना सम्पर्कविहीन भएका छन् । त्यस्तै ९ जनाको शव भेटिएको छ ।

रसुवाको स्याफ्रुवेशीदेखी टिमुरेसम्म करिब १६ किलोमिटर सडक बाढीले क्षति गरेको कार्यकारी प्रमुख भट्टले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको प्राधिकरणको १४ औँ राष्ट्रिय परिषद्ले मितेरी पुल र सड्क बनाउन चीनलाई आग्रह गर्ने निर्णय गरेको छ । भट्टले भने, ‘त्यहाँको सड्क पनि तत्काल सञ्चालन हुँदैन ।’