देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज बडादशैं, टिकाको उत्तम साइत ११ बजेर ५५ मिनेटमा

देशान्तर

काठमाडौं । आज हिन्दू नेपालीहरुको महान् चाड बडादशैं मान्यजनहरुबाट टीका र आशिर्वाद ग्रहण गरी मनाइँदैछ । टीकाको साइत बिहान ११ बजेर ५५ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । त्यसअघि बिहान ८ बजेर १ मिनेटमा देवी विसर्जनको साइत रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।  घरमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दूर्गालाई चढाएपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनहरूबाट नवदूर्गा भवानीको प्रसाद, टीका र जमरा लगाउने प्रचलन छ ।

यो दशैंको सबैभन्दा महत्वपूर्ण दिन हो । आजको दिन परिवारमा आफूभन्दा ठूलाबडा, बाजेबज्यै, बाबुआमा, गुरुपुरोहित तथा मान्यजनको हातबाट नवदूर्गा भवानीको प्रसादको रुपमा रातो टीका, जमरा तथा प्रसाद थापी यस, ऐश्वर्य तथा दीर्घायु प्राप्त होस् भनी आशिर्वाद लिने गरिन्छ । समस्त नेपालीजनले विजयादशमीलाई एकता, भ्रातृत्व र प्रेमको रुपमा लिने गरेका कारण पनि सबै आफन्तजन एकै स्थानमा भेला भएर टीका लगाउने प्रचलन छ । मान्यजनको हातबाट दशैंको टीका लगाउन देश विदेशबाट समेत मानिसहरु आफ्नो गाउँघरमा पुग्ने गर्दछन् । कतिपय स्थानमा कोजाग्रत पूर्णिमासम्म पनि टीका लगाउने चलन छ ।

विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अन्य फूलको सट्टा घटस्थापनाको दिन पूजा कोठामा राखिएको समृद्धिको प्रतीक पहेंलो जमरा प्रयोग गरिन्छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्ति विजय भएको खुसियालीमा दशैं मनाउने चलन चलेको पौराणिक मान्यता छ ।