देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लोकतन्त्रवादी मिलेर जानुपर्छ :  महामन्त्री कोइराला

देशान्तर

भैरहवा । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले लोकतन्त्रवादी शक्तिहरु मिलेर जानुपर्ने बताएका छन्। नेपाली कांग्रेसको अबको पहिलो संकल्प समृद्ध राष्ट्र बनाउनु रहेको बताउँदै महामन्त्री कोइरालाले सत्ता गठबन्धनमा सहभागी दलहरु आशन्न निर्वाचनमा पनि मिलेर जानु पर्नेमा जोड दिए।

लोकतन्त्रवादी शक्ति मिलेर गएको खण्डमा नेपाल छिट्टै स्थायित्व, शान्ति र समृद्धिको बाटोमा अगाडि बढ्न सक्ने बताउँदै उनले त्यसका लागि सबैको भूमिका महत्वपूर्ण रहेको बताए। नेपाल प्रेस युनियन, रुपन्देहीले भैरहवामा मंगलबार बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महामन्त्री कोइरालाले नेपाली कांग्रेस अब समृद्धिको एजेण्डा लिएर अगाडि बढ्ने बताए।

मुलुकलाई समृद्ध कसरी बनाउन सकिन्छ भन्नेमा कांग्रेस लागिपरेको बताउँदै उनले सिद्धान्तको झगडालाई थाति राखेर समृद्धिको पाटो पहिल्याएर जनतालाई सुखी र खुसी बनाउने अभियानमा लाग्ने बताए। समृद्ध राष्ट्र निर्माणका लागि आगामी दिनमा पनि कांग्रेसको सरकार आवश्यक रहेको बताउँदै आसन्न प्रदेश र केन्द्रको निर्वाचनमा नेपाली काँग्रेसलाई अग्रपंक्तिमा पुर्‍याउन उनले आग्रह गरे।