काठमाडौं । दलका नेता र कर्मचारी गरी दुई सयभन्दा बढीको विवरण लिएर अकुत सम्पत्ति आर्जनमा छानबिन सुरु गरेको अख्तियारले धेरैजसो मुद्दामा भ्रष्टाचारीका श्रीमतीलाई केन्द्रबिन्दु बनाएको छ । अख्तियार उच्च स्रोतले देशान्तरलाई दिएको जानकारीअनुसार अख्तियारले विवरण संकलन गरी छानबिन सुरु गरेको धैरैजसो मुद्दामा श्रीमती र उनका नातागोतामा सम्पत्ति लुकाइएको पाएपछि अनुसन्धानको प्रक्रिया परिवर्तन गरिएको हो ।
राजनीति तथा सरकारी सेवाको उच्च पदमा रहेका व्यक्तिका श्रीमतीले ढुकुटीलगायतका चक्रवर्तीय ब्याजमा रकम चलखेल गर्ने गरेको र ठूला खरिद बिक्रीमा समेत उनीहरूले सहभागिता बढी भेटिएपछि भ्रष्टाचारको अशंकामा अनुसन्धान सुरु गरिएका नेता र कर्मचारीका श्रीमतीहरूलाई अनुसन्धानको केन्द्र बिन्दु बनाइएको हो ।
नेपालमा धेरै कर्मचारीहरू श्रीमतीको दबाबमा सामाजिक रवाफ देखाउन पैसा कमाउन खोज्दा भ्रष्टाचारको दलदलमा फस्ने गरेका अख्तियार स्रोतको भनाइ छ । स्रोतले श्रीमान्लाई भ्रष्टाचार गर्न उकास्ने सरकारी कर्मचारीका त्यस्ता श्रीमतीहरूसमेत समान कारबाही हुने गरी अनुसन्धान भइरहेको जनाएको छ । अख्तियारले लिएको विवरणमा एक सयभन्दा माथि राजनीतिक नेताहरू रहेका छन् ।
ठूला पार्टीका ठूला नेताहरूमाथि कारबाही चलाउने तयारी भए पनि निर्वाचन आएकाले उनीहरूलाई पछिल्लो पंक्तिमा राखिएको अख्तियारको भनाइ छ । अख्तियार निकट स्रोतले राप्रपाबाट ९ जना, माओवादी केन्द्रबाट ३५ जना, एमालेबाट २१ जना र कांग्रेसबाट १९ जनाको अकुत सम्पत्ति विवरणमाथि छानबिन भइरहेको जनाएको छ ।
फोरम लोकतान्त्रिक, संघीय समाजवादी फोरम र अन्य दलहरूबाट १३ जना छानबिनको दायरामा परेका छन् । अख्तियारले नेपाल प्रहरीबाट ३१ जना विरुद्ध मुद्दा चलाउने तयारी गरेको छ । अन्य सरकारी र सरकार नियन्त्रित निकायका कर्मचारी रहेका छन् । अहिले अख्तियारले सरकारी कर्मचारी विभिन्न अर्धसरकारी क्षेत्रमा कार्यरत र पूर्व कर्मचारीहरूको फाइल अघि बढाएको छ ।
अख्तियारले सगरमाथा वन विकास परियोजना सर्लाहीका कर्मचारी सुरेश सिंहलाई अकुत सम्पत्ति कमाएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सिंहको एक करोड ३६ लाख ७३ हजार ५ सय ६९ रुपैया“ बराबर सम्पत्तिको स्रोत नखुलेपछि मुद्दा दायर गरेको थियो । उनकी श्रीमती निर्मलादेवी सिंहविरुद्ध पनि स“गै मुद्दा दायर भएको छ ।
त्यसको तीन दिनपछि नेपाल विद्युत् प्राधिकरणका अवकाश प्राप्त सहायक निर्देशक धुव्रकुमार उप्रेतीविरुद्ध अख्तियारले अकुत सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर ग¥यो । धुव्रकुमार उप्रेतीको सम्पत्तिमध्ये ४ करोड १८ लाख १० हजार ८ सय ९ रुपैया“को स्रोत नखुलेको पाइएको छ । चितवनस्थित क्यान्सर अस्पतालका अध्यक्ष डा. भक्तमान श्रेष्ठ अकुत सम्पत्ति पनि अख्तियारले फेरि अनुसन्धान सुरु गर्दै भक्तमानकी श्रीमती सिलुलाई पनि प्रतिवादी बनाएको छ ।
अख्तियार स्रोतका अनुसार सरकारका सहसचिव एवं विभागीय प्रमुखसहित २६ पदाधिकारीलाई छानबिनको दायरामा ल्याइएको छ । सार्वजनिक ओहदामा रहेर छानबिन सुरु गरिएकामा निजामती कर्मचारी, चिकित्सक, विभागीय प्रमुख, परिषद् सदस्य, डिन, आयोजना प्रमुखलगायत छन् ।
अख्तियारले अकुत सम्पत्ति लुकाएको आशंकामा २६ जनाको बैंकका लकर रोक्का गर्न पत्र पठाएको छ । पहिलो चरणमा अख्तियारले एक सय १८ व्यक्तिमाथि अकुत सम्पत्ति छानबिनको कारबाही तीव्र पारेको छ ।
अख्तियारबाट पछिल्लो पटक अकुत सम्पत्ति छानबिन कारबाही अघि बढाइएका पदाधिकारीमा भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सहसचिव रोहितकुमार भट्टराई, वीर अस्पतालका निर्देशक डा.स्वयंप्रकाश पण्डित, नेपाल मेडिकल काउन्सिलका सदस्य डा.अञ्जनीकुमार झा, शिवजी पौडेल, एई अन्सारी, निरज पन्त, रोशन पिया, कुलदीप गोइत छन् ।
स्रोतले नेपाल आयल निगमका निर्देशक नागेन्द्र शाह, वितरण विभाग प्रमुख सुशील भट्टराईलाई पनि अकुत सम्पत्ति छानबिनको दायरामा तानेको छ ।
यस्तै स्थानीय विकास मन्त्रालयका सस्पेन्सन ब्रिज डिभिजन प्रमुख उमाशंकर साह, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत मध्यपहाडी लोकमार्गका आयोजना प्रमुख अयोध्याप्रसाद श्रेष्ठ र सडक बोर्डका कार्यकारी निर्देशक रमेशनाथ बा“स्तोला पनि अकुत सम्पत्तिमा तानिएका छन् ।
बिमा समितिका निर्देशक राजुरमण पौडेल, काठमाडौं महानगरपालिकाका वरिष्ठ कर अधिकृत नूरनिधि न्यौपाने, महानगरपालिकाकै इन्जिनियर रविमान श्रेष्ठ, वरिष्ठ प्रशासकीय अधिकृत बलराम त्रिपाठी र विभागीय प्रमुख सञ्जयराज उपाध्यायको पनि सम्पत्ति छानबिन सुरु गरिएको छ ।
स्रोतका अनुसार इन्जिनियरिङ संस्थानका डिन भरतराज पहाडी, स्वास्थ्य व्यवसायी परिषका सदस्य रामविनोद महतो, भूमिसुधार मन्त्रालयका उपसचिव राजकपुर चौलागाईं, सर्भेक्षक रामनारायण यादव, उद्योग मन्त्रालयका उपसचिव सुरेन्द्रप्रसाद जोशी, वन तथा भूसंरक्षण मन्त्रालयअन्तर्गतका जिल्ला वन अधिकृत राजेन्द्रमानसिंह भण्डारी, जयमंगल प्रसाद र इन्द्रप्रसाद सापकोटामाथि पनि अकुत सम्पत्तिको आशंकामा छानबिन सुरु भएको छ ।
यसअघि अकुतमा नेता तथा सरकारी पदाधिकारीसहित ९२ जनाको सम्पत्ति छानबिन सुरु भइसकेको छ । पछिल्लो सूचीसमेत गरी एक सय १८ जना छानबिनको घेरामा छन् । अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार प्रमुख देवानन्द उपाध्यायसहित २५ कर्मचारीको ‘अकुत’ सम्पत्तिमा छानबिन सुरु गरेको छ ।
अख्तियारले उनीहरूलाई दुई साताभित्र १३ पन्ने सम्पत्ति विवरण फाराम भरेर बुझाउन निर्देशन दिएको छ । उनीहरूको सम्पत्तिमा आशंका उत्पन्न भएपछि अख्तियारले छानबिनका विवरण भरेर बुझाउन भने लगत्तै उनीहरूका श्रीमतीको पनि छानबिन सुरु गरेको छ ।
अख्तियारले चिलिमे जलविद्युत् आयोजनाका कार्यकारी प्रमुख दामोदरभक्त श्रेष्ठ, कृषि सामग्री लिमिटेडका वरिष्ठ अधिकृत अच्युत पौडेल, नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवाल, सडक विभागका सिनियर डिभिजन इन्जिनियर ज्ञानेन्द्रकुमार झा, दण्डपाणि पौडेल, राजस्व अनुसन्धान विभागका शाखा अधिकृत झविन्द्र पोखरेल, शिवचन्द्र पन्त, आन्तरिक राजस्व विभागका शाखा अधिकृत रमेश भट्टराईमाथि पनि छानविन सुरु गरेको छ ।
गत साता पूर्वप्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, बहालवाला सचिव गजेन्द्र ठाकुर र दुई डीएसपीस“ग अख्तियारले बयान लिएको थियो । अख्तियारले पुस १ गते पछि धेरैजसोलाई नियन्त्रणमा लिने स्रोतले बताएको छ ।





प्रतिक्रिया