देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सौराहाका व्यवसायीहरुले १६ बुँदे आचारसंहिता जारी गरे

देशान्तर

 

काठमाडौं । चितवनको सौराहालाई पर्यटनमैत्री बनाउन यहाँका ब्यवसायीहरुले १६ बुँदे आचारसंहिता जारी गरेका छन्। ध्वनि प्रदुषणमा नियन्त्रण, पर्यटनमैत्री वातावरण, वन, वन्यजन्तु र वातावरण संरक्षणलाई केन्द्रमा राखेर आचारसंहिता जारी गरेका हुन्। क्षेत्रीय होटल संघ, क्षेत्रीय रेवान, प्रहरी, नेचर गाइड एसोसिएसन, बाघमारा सामुदायिक वन, हात्ती सहकारी र साना पर्यटन व्यवसायी समूहको संयुक्त भेलाले आचारसंहिता जारी गरेको संघका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए।
आचारसंहितामा कुनै मेला महोत्सवबाहेक जाडो समयमा राति ११ बजेसम्म र गर्मी समयमा १२ बजेसम्म होटल रेष्टुरेन्ट सञ्चालन गर्न भनिएको छ।

व्यवसायीहरुले वन्यजन्तुलाई असर पर्ने गरी गीत संगीत बजाउन नपाउने, स्थानीय र पर्यटनका यातायातका साधन ध्वनिरहित हुनुपर्ने, ट्याक्टर तथा ट्रिपरहरु १० देखि ३ बजेसम्म मात्रै सञ्चालन गर्न पाउने छन्।
यसै गरि पर्यटकहरुलाई बीच बाटोमा रोकेर हात्ती, जीप सफारी तथा होटलको कोठा बेच्न नपाउने, पर्यटकीय क्षेत्रका बाटोघाटोमा गाडी रोक्न नपाउने, पोशाकमा आएका विद्यार्थीहरुका लागि जिम्मेवार अभिभावक नभएसम्म कोठामा बस्न नदिने, स्वीमिङ पुलमा अनिवार्य रुपमा लाइफ ज्याकेट राख्ने, अनुमति विना ड्रोनको प्रयोग गर्न नदिने गरी आचारसंहिता बनाइएको घिमिरेले जानकारी दिए।

आचारसंहितामा किराना र मदिरा पसलअगाडि पेटीमा मादक पदार्थ सेवन गराउन नपाउने र हरेकले यो आचारसंहिता आआफ्नो व्यवसाय अगाडि सबैले देख्ने स्थानमा राख्ने उल्लेख छ। आगामी पुस १ गतेदेखि भने सौराहालाई हर्न निषेध क्षेत्र घोषणा गर्ने तयारीसमेत गरिएको क्षेत्रीय रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिए।