देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपालमा स्थिर सरकार बन्न लाग्दा चीन उत्साही

देशान्तर

काठमाडौं । पूर्वपरराष्ट्र मन्त्री तथा कांग्रेस नेतृ सुजता कोइरालाले हालै काठमाडौंमा आयोजित एक कार्यक्रममा भनिन्, ‘पछिल्लो समय सफ्ट पावर प्रयोगमा चीन सबैभन्दा अगाडि देखिएको छ । चीनले एसिया, अफ्रिका, दक्षिण अमेरिकालगायत देशमा आफ्नो प्रविधि र सीपबाट विकासमा साझेदारी गरेर आफ्नो प्रभाव बढाउँदै लगेको छ । केही समयअघि मात्रै चीनमा आयोजित एक कार्यक्रममा सहभागी हुँदाको अनुभव सुनाउँदै उनले थपिन्, ‘चीन विकासबाट मात्रै होइन नरम शब्द प्रयोग, आथित्यताबाट पनि राम्रो प्रभाव पारेको छ ।’

म्यानमारका प्रजातन्त्रवादी नेतृ आङ साङ सुची, अमेरिका, जापान, थाइल्याण्डलगायतका उच्च प्रतिनिधिसहित बेइजिङमा हालै आयोजित कार्यक्रममा चीनका राष्ट्रपति सी चिन फिङको सम्बोधनसमेत उनले सुनाइन् । ‘चीन कुनै पनि देशमाथि हस्तक्षेप गर्न चाहँदैन । सो कार्यक्रममा राष्ट्रपति सीले गरेको सम्बोधनले पनि संकेत गर्छ,’ उनले भनिन्, ‘सम्बोधनमा उहाँले, “सबै मुलुकले आफ्नो परिस्थिति र संस्कारअनुसार राजनीतिक पद्दती लागू गरेको हुन्छ । चीनको पनि आफ्नै परिस्थिति छ । हामीले चिनियाँ मोडलको समाजवाद भनेका छौँ । हामी छिमेक र समग्र विश्वको समृद्धिका लागि काम गर्न चाहन्छौं,” भन्नुभएको थियो । चीनबाट हाम्रो जस्तो मुलुकले कसरी गरिबीको अन्त्य गर्ने भन्ने सिक्नुपर्छ ।’

उनले अमेरिका विश्वको शक्तिशाली मुलुक हुँदा हामीले के पायौँ, भारतबाट के पायौँ भन्ने समिक्षा हुनुपर्ने बताउँदै देशको समृद्धिका लागि सबै मुलुकसँग सहकार्य गर्नुपर्ने धारणा राखिन् ।

चीनले पछिल्लो समय परिधिय(पेरिफेरियल) कूटनीतिमा आधारित विदेश नीतिलाई प्रथामिकता दिएको छ । चीनका राष्ट्रपति सीले छिमेकी मुलुकलाई प्रथामिकतामा राख्दै मध्यपूर्वी, अफ्रिकी, अमेरिकी मुलुकसँग पनि साझेदारी बढाइरहेको छ ।

भारतको प्रभाव र रवाफमा चलिरहेको दक्षिण एसियामा भुटानबाहेक सबै राष्ट्रसँग चीनले छुट्टा–छुट्टै रूपमा साझेदारी र सम्बन्ध विस्तार गर्न थालेको छ । यसअघि ‘भारतलाई नचिढाइ साझेदारी गरौँ’ भन्ने मनसाय व्यक्त गर्ने चीनले अहिले हरेक मुलुकसँग विशेष, सम्बन्धित देशको परिस्थितिअनुसारको साझेदारी गर्ने नीति लिएको छ । दक्षिण एसियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार भारतसँग भुटानको दोक्लाम विवाद र चीनले अगाडि सारेको महत्वकांक्षी बेल्ट एण्ड रोड(बीआरआई) आयोजनामा नसघाएको भन्दै भारतसँग चिढिएको छ । जसले गर्दा चीनले सबै छिमेकी देशसँग आपसी विजय र आवश्यकताका आधारमा साझेदारी गर्ने नीति लिएको छ ।

उसले दक्षिणी सिमासँग जोडिएको नेपालसँगको सहकार्यलाई पनि जोड दिएको चीनको सिचुवान विश्वविद्यालयको दक्षिण एसिया अध्ययन केन्द्रको नेपाल मामिला निर्देशक वाङ छेन्दुले बताए ।

नेपालमा भएको तीन चरणको चुनावमा एक पक्षको विजयले राजनीतिक स्थिरता हुने अपेक्षासहित आफूले नेपालसँग अगाडि बढाएका कार्यक्रम र आयोजना समयमै सम्पन्न हुने चिनियाँ पक्षको अपेक्षा छ ।

‘संविधान निर्माणपछि भएका तीन निर्वाचन नेपालको स्थिरता, विकास र समृद्धिका लागि ठूलो अवसर हो,’ जनतापोस्टसँगको कुराकानीमा छेन्दुले भने, ‘चीन नेपाली जनताले समृद्धिको आशासहित मत दिएका छन् । सम्मानजनक मत पाएका वाम गठबन्धन एक हुन जरूरी छ ।’

उनले बन्दै गरेको सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने लगभग पक्का भएको अवस्थामा उनकै नेतृत्वमा बनेको अघिल्लो सरकारले चीनसँग गरेको पारवहन तथा व्यापार सम्झौता कार्यन्वयनमा जोड दिनुपर्ने बताए । ‘ओलीको नेतृत्वको अघिल्लो सरकारले चीनसँग गरेको समझदारी कार्यान्वयन अबको सरकारले गर्नेमा चीन विश्वस्त छ,’ उनले भने, ‘जुन नेपाल र चीन दुवैको हितमा छ । यति हुँदा–हुँदै पनि नेपाल आर्थिक, सांस्कृतिक र भूगोलको हिसाबले नजिक र सहज छ । जसले गर्दा तीन देशसँगको साझेदारी दुवै देशका लागि लाभदायिक छ ।’

चीनको प्रथामिकतामा बीआरआई
नेपालमा हुने राजनीतिक स्थिरताले एकातिर चिनियाँ लगानी भित्रिने सम्भावना प्रचुर छ । अर्कोतिर चिनियाँ प्रथामिकताको महत्वकांक्षी योजना ‘बेल्ट एण्ड रोड इनिसियटिभ’मा नेपाल आबद्ध भैसकेपछि रोड एण्ड रेल कनेक्टिभिटी, हाइड्रोपावर परियोजना, क्रस बोर्डर ट्रान्समिसन लाइनको विस्तार, पर्यटन प्रवद्र्धन, जनस्तरको सम्बन्ध विस्तारका कुराहरू तीव्र्र रूपमा अगाडि बढ्नेछ ।

चिनियाँ उत्पादनको निर्यातमा आधारित चिनियाँ अर्थतन्त्र ‘बेल्ट एण्ड रोड’मार्फत चिनियाँ प्रविधि, उद्योग, मानवीय संसाधन र चिनियाँ स्पिरिटको निर्यातमा रूपान्तरण भएर यसको दिगोपनामा विशेष जोड दिएको परराष्ट्र मामिला अध्यता हरिप्रकाश चन्दले जानकारी दिए  ।

सी चिनफिङको नेतृत्व आइसकेपछि पेरिफेरियल नीतिमा बढी महत्व दिन थालेको चीन–भारत–नेपालको त्रिदेशीय सम्बन्धमा विद्यावारिधि गरिरहेका रूपक सापकोटाले जानकारी दिए ।

उनले बीआरआईमा शक्तिशाली राष्ट्रका अलवा दक्षिण एसीयाली मुलुकलाई पनि चीनले महत्वका साथ समेट्न खोजिरहेको बताए । ‘चीनले दक्षिण एसियाली मुलुकसँग समदूरी कामय गर्न चाहन्थ्यो । तर, बीआरआई परियोजना अगाडि बढेपछि भारत र अमेरिका चिढिएको छ । भारतको सार्वभौमिकतामा असर पु¥याउने भन्दै साझेदारी गर्न मानेको छैन,’ उनले भने, ‘चीनले अगाडि सारेको कनेक्टिभिटी, सिल्करोड, जमिनमार्गमा पनि साझेदारी गर्न अस्वीकार गरेपछि उनीहरूको सम्बन्ध बिग्रिएको देखिन्छ ।’

उनले चीनसँग पारवाहन सम्झौता गर्ने ओली र बीआई सम्झौता गर्ने पुष्पकमल दाहालले अबको सरकार चलाउने भएकाले सम्झौता कार्यन्वयनमा चीन आशावादी रहेको बताए ।

एसिया, युरोप र अफ्रिकाका विकासशील देशहरूमा बेल्ट एण्ड रोडअन्तर्गत प्रचुर लगानीमार्फत ती देशहरूमा रोजगारीको अवसर सृजना गराउनेछ । र त्यसमार्फत ती देशहरूको रोजगारीको समस्या समाधान गरी आर्थिक समृद्धिको बाटोमा अघि बढाउने चिनियाँ प्रयास हुने रेन्विन विश्वविद्यालयको विदेश मामिला निर्देशक तथा नेपाल जानकार चेन जियाओछेनले धारणा राखे । बीरआईका जानकारसमेत रहेका उनले वाम गठबन्धनको विजयलाई चीनले नेपाली जनताको विजयका रूपमा हेरेको बताए ।

‘नेपालमा बन्ने नयाँ सरकारलाई चीन हस्तक्षेप होइन, सहयोगी भावनाले हेर्छ,’ उनले जनतापोस्टसँग भने, ‘हामी नेपालमा मुख्य राजनीतिक दलबीच विकासका योजनामा साझा समझदारी बनोस् र बेल्ट एण्ड रोड साझेदारी अगाडि बढोस भन्ने चाहन्छौँ । जसले नेपालको समृद्धिमा सहयोग पुग्छ ।’

केरूङ–पोखरा–लुम्बिनी रेलमा जोड  
नयाँ सरकार बनेपछि नेपाल–चीनको सर्वाधिक चासोको रूपमा हेरिएको ल्हासा–सिगात्से–केरूङ्ग रेल मार्गलाई काठमाडौैं–पोखरा–लुम्बिनीसम्म विस्तार गरी नेपालको भौतिक पूर्वाधारमा नयाँ आयाम थपिने अपेक्षा छ । नेपालको उत्तरतिरका नाकाहरूसम्म चीन र नेपालतर्फबाट सडक निर्माण र स्तरीकरण गरी नेपालको उत्तरी बेल्टलाई पूर्वाधारमा अगाडि ल्याई चीनसँग जोड्ने कार्य हुन गएमा नेपालको असन्तुलित विकासमा सन्तुलन कायम हुने देखिन्छ । यसले नेपालको भारत निर्भर विकास, अर्थतन्त्र र राजनीतिमा हुने ‘सिफ्ट’ले नेपालको छिमेक सम्बन्ध प्रभावकारी र समदूरी कायम हुने कूटनीतिक जानकारहरूको अपेक्षा छ ।

नेपाल भूपरिवेष्टित राष्ट्रबाट भूजडित अवस्थामा रूपान्तरित भइ दुवै छिमेकी देशको रणनीतिक सम्बन्ध नेपालको परिवर्तित भूराजनीतिमा केही हदसम्म निर्भर रहने परिस्थितिको विकास हुने परराष्ट्र अध्यता चन्दको विश्लेषण छ ।

बीआरआई कमजोर राष्ट्रहरूको स्वाधिनताको ग्यारेन्टी कसरी गर्ला भन्ने प्रश्न उब्जिरहँदा नेपालको वाम शक्तिको स्थिर सरकारलाई चिनियाँ सरकारले निकै सकारात्मक र अवसरको रूपमा लिएको चिनियाँ सञ्चारमाध्यमको विश्लेषण देखिन्छ । तर, नेपालले चीन र भारतको आपसी सम्बन्धका आयामहरूलाई ख्याल गरी अघि बढ्न सके तीन वटै देशहरू नेपालको सम्भावित राजनीतिक स्थिरताबाट लाभान्वित हुने जानकारहरू बताउँछन् । जनता पाेष्ट