देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राजधानीबाहिर पनि नक्कली डाक्टरको बिगबिगी

देशान्तर

काठमाडौं । चिकित्सकीय अभ्याससम्बन्धी कुनै पनि ज्ञान नभएका अवैध चिकित्सकको बिगबिगी राजधानीबाहिर पनि बढेको पाइएको छ। चिकित्सासम्बन्धी योग्यता र अनुमतिबिनै उपचार गरी बिरामी ठग्ने स्वास्थ्यकर्मी राजधानीबाहिरका सहरमा बढेको सरोकारवालाले बताएका छन्। उपभोक्तावादी संस्था र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले थालेको प्रारम्भिक अनुसन्धानले राजधानीसँगै राजधानीबाहिर पनि अवैध चिकित्सकको बिगबिगी रहेको देखाएको छ।

तराईका अधिकांश जिल्लामा चिकित्सकीय ज्ञान नभएका व्यक्तिले उपचारको नाममा नागरिकको स्वास्थ्यमा खेलबाड गरिरहेको प्रारम्भिक अनुसन्धानले देखाएको सीआईबीका प्रमुख पुष्कर कार्कीले बताए। ‘राजधानीबाहिरबाट पनि आम नागरिकबाट व्यापक मात्रामा गुनासो आएको छ,’ उनले भने, ‘आधारभूत स्वास्थ्य सेवाका नाममा नागरिक ठगिएका छन्। त्यस्ता स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई हामी तत्काल अप्रेसन गर्दैछौं।’

राजधानीका सामान्य क्लिनिकबाट सुरु भएको अप्रेसन देशैभरि पुग्ने कार्कीका भनाइ छ। राजधानीबाट बिरामी ठगेको आरोपमा अस्पताल सञ्चालक र विदेशी नागरिकसहित २० जनालाई पहरीले पक्राउ गरेसँगै उपत्यकाबाहिर पनि अवैध चिकित्सकको बिगबिगीले नागरिक ठगिएको विषय बाहिर आएको हो।

नेपाल मेडिकल काउन्सिलले राजधानीबाहिर पनि स्वास्थ्य संस्थामा चरम लापरवाही भएको भन्दै अनुगमन गर्न माग गरेको छ। नेपाल–भारतको सीमानजिक भएका कारण पनि तराईमा बढी समस्या रहेको काउन्सिलका एक उच्च अधिकारीले बताए। ‘अनमी, अहेबले बिरामीको स्वास्थ्य परीक्षण गर्न पाउँछन्, तर उनीहरुले प्रस्किप्सन र आफूलाई डाक्टर लेख्न पाउँदैनन्।’ उनले भने। नयाँ पत्रिकामा समाचार छ ।