देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राप्रपाले वैचारिक दृष्टिकोणलाई परिवर्तन नगर्ने

देशान्तर

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले लिँदै आएको हिन्दू राष्ट्र, संवैधानिक राजसंस्थालगायत सैद्धान्तिक तथा वैचारिक दृष्टिकोणलाई परिवर्तन नगर्ने भएको छ। केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारीलगायत शीर्ष नेतृत्व तहका नेताको सहभागितामा भएको उच्चस्तरीय अनुशिक्षण बैठकले वैचारिक कारणले पार्टी पराजय नभएको निष्कर्ष निकालेको छ।

बिहीबारदेखि शुरु भई आज सम्पन्न उक्त बैठकले दलभित्रको आन्तरिक विवाद, संगठन निर्माणमा देखिएको सुस्तताका कारण चुनावमा अपेक्षाकृत सफलता प्राप्त गर्न नसकिएको ठहर गरेको छ।

पार्टीमा संगठन सुदृढीकरणका विषयमा छलफल भएको उक्त बैठकमा पार्टी अध्यक्ष कमल थापाले आगामी दिनमा पार्टी सञ्चालनका लागि सशक्त भई नेतृत्व प्रदान गर्नुपर्ने सहभागीबाट सुझाव आएको प्रवक्ता भुवन पाठकले जानकारी दिए। उनका अनुसार अध्यक्ष थापाले पार्टीलाई जनताको विकास र समाजसेवाका माध्यमलाई आधार बनाएर नयाँ ढंगबाट उचाइमा लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।

मुलुकमा हालै सम्पन्न भएका प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी नराम्रोसँग पराजाय भएपछि नयाँ वैचारिक धारसहितको नयाँ नेतृत्वका लागि कार्यकर्ताबाट माग भइरहेको थियो। विभिन्न दलका नाममा छरिएका राप्रपा पुनः एकताका लागि कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेमा पनि सामान्य छलफल भएको बताइएको छ।

विभिन्न शिरामा विभाजित राप्रपा करिब एक वर्ष अगाडि एकीकृत भएको भए पनि वैचारिक दृष्टकोणमा प्रष्ट नहुँदा हाल तीन भागमा टुक्रिएको छ। युवा वर्गलाई विभिन्न सिर्जनात्मक माध्यमबाट उत्पादनमा क्रियाशील गराई उनीहरुलाई पार्टीमा आकर्षित गराउनुपर्ने दृष्टिकोण पनि प्रस्तुत गरिएको छ।