देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भावुक हुँदै कोमल वलीले खुमबहादुरलाई सम्झिए, अशल अविभावक गुमाए

देशान्तर

आइतबार दिउँसो नेपाली कांग्रेसको पार्टी कार्यालय पुग्दा मेरो मन ढक्क भइरहेको थियो । किनकि म कुनै उत्सवका लागि त्यहाँ गएकी थिइनँ । त्यहाँ जान मेरो मनले मलाई निर्देशन गरेको थिएन, बाध्यताले डो¥याएको थियो । र, त्यो बाध्यता थियो– मैले सधैं सम्मान गर्ने खुमबहादुर खड्का ज्युको पार्थिव शरीरलाई फूलमाला अर्पण गर्नु ।

एउटा पुरानो चिनजान भएको व्यक्तिलाई आफ्नै आँखा अगाडि निर्जिव देख्नु समयले दिनसक्ने ठूला पीडामध्ये एक रहेछ । त्यो पीडाको साक्षात्कार गर्नु पर्दा म भावशून्य भएँ । त्यसैले पनि आइतबारको दिन मैले एउटा बिर्सन चाहने दिनमध्ये रह्यो ।

उहाँसँग मेरो चिनजान आजको होइन । निकै पुरानो हो । पहिलो पटक उहाँसँग भेट भएको प्रसङ्ग म अहिले पनि सम्झिन्छु ।

म त्यति बेला दाङमा इन्टर पढ्दै थिएँ । कलेजको नेपाल विद्यार्थी (नेवि) संघले पिकनिक आयोजना गरेको थियो । त्यो पिकनिकमा म पनि सहभागि थिएँ ।

त्यो पिकनिकमा मैले त्यसअघि नदेखेको एकजना व्यक्ति हुनुहुन्थ्यो । मैले साथीहरुलाई सोधेँ । उनीहरुले मलाई चिनाए– उहाँ खुमबहादुर खड्का हो ।

उहाँ त्यति बेला खुला रुपमा हिँड्ने माहोल रहेनछ । प्रतिबन्धित हुनुहुन्थ्यो । ०४५÷४६ सालको कुरा हुनुपर्छ, खुमबहादुर खड्का राजनीतिमा निकै चर्चित भइसक्नु भएको थियो ।

लुकेर पिकनिक आउनु भएको उहाँले त्यो दिन मैले गीत गाएपछि निकै प्रशंसा गर्नु भएको थियो । मेरो कला र गला दुवैलाई प्रशंसा गर्दै उहाँले अन्य साथीहरुलाई भन्नुभएछ– उहाँलाई नेवि संघमा ल्याउनु पर्ने ।

पछि सांसद् हुनुभएका मेरा सहपाठी राजु खनालले मलाई यो कुरा सुनाउँदा मलाई विश्वासै भएको थिएन ।

पछि खुमबहादुर खड्कासँग भेट भयो । उहाँले चाहिँ ती भेटमा कहिल्यै राजनीतिक कुरा गर्नु भएन । त्यसैले मैले पनि उहाँलाई राजनीतिक व्यक्तिका रुपमा मात्र हेरिनँ ।

आज पनि उहाँलाई म राजनीतिक ‘नजर’ले मात्र हेर्दिनँ । कुनै नातामा जोडिएर उहाँसँगको सम्बन्धलाई पनि म हेर्दिनँ । कुनै सम्बन्ध सबैभन्दा माथि हुन्छन् । कुनै सम्बन्धका लागि कुनै परिभाषा चाहिँदैन । त्यही सम्बन्ध थियो, मेरो र खुमबहादुर खड्काको ।

किनकि उहाँ व्यक्तिलाई होइन, राजनीतिक सिद्धान्त र परिपाटीलाई होइन, कोही पनि व्यक्तिको प्रतिभालाई विशेष महत्व दिनुहुन्थ्यो ।

र, उहाँ दुःखको भारी बिसाउने एउटा फराकिलो मैदान हुनु भएको थियो । म सुन्थेँ– फलानो आफ्ना कुरा लिएर खुमबहादुर खड्काकहाँ पुगेको थियो, समस्या समाधान भएछ । दाङको मात्र होइन, एउटा नेपाली जब उहाँकहाँ दुःख लिएर जान्थ्यो, उहाँ त्यो सबै समाधान गर्ने एउटा व्यक्ति हुनुहुन्थ्यो । उहाँलाई आफूले सहयोग गर्दा कसैलाई हुन्छ भने गर्नुपर्छ भन्ने भावना थियो ।

तर, उहाँ त्यो सहयोग गर्दा त्यो व्यक्तिको क्षमतामा पनि ध्यान दिनुहुन्थ्यो ।

उहाँले मलाई जीवनका एउटा ठूलो गुण लगाउनु भएको छ ।

त्यति बेला म दाङबाट काठमाडौं आएकी थिएँ । उहाँ यातायातमन्त्री हुनुहुन्थ्यो । उहाँसँग म जिज्ञासासहित अनुरोध गर्न पुगेकी थिएँ– मेरो रेडियो नेपालमा प्रवेश छ कि भन्ने सन्दर्भमा ।

खासमा रेडियो नेपालमा हुने स्वर परीक्षा मैले पास गरिसकेकी थिएँ । आवेदन दिएर मैले अरु प्रक्रिया पूरा गरिसकेकी थिएँ । तर, अनेक तानाबाना बनाएर भनिएको समयमा मैले त्यहाँका कर्मचारीबाट सहयोग पाएकी थिइनँ ।

यही कुरा भन्न म उहाँको मन्त्री क्वार्टर पुगेकी थिएँ । उहाँले म आएको थाहा पाएपछि खुसी व्यक्तमात्र गर्नु भएन निकै लामो कुराकानी पनि गर्नुभयो । त्यति बेलाका लागि त्यो मेरो ठूलो उपलब्धि थियो, त्यो सम्झना अहिले पनि मलाई ताजै छ ।

उहाँले तत्कालीन सन्चारमन्त्री विजयकुमार गच्छदारलाई फोन गरिदिनु भएको थियो– म एकजना दाङकी निकै राम्रो स्वर भएकी बहिनी पठाउँदै छु, उहाँको स्वर सुन्नुस् अनि रेडियो नेपालमा के भइरहेको हो, बुझिदिनुस् ।

मलाई थाहा छ– उहाँकोमा कोही जागिर माग्न पुगे, कोही सहयोग माग्न पुगे । तर, कोही पनि मन दुखाएर फर्किनु परेन । कोही पनि निराश भएर फर्किनु परेन ।

यो सब कुरामा अर्को फरक के थियो भने उहाँले कसैलाई पनि राजनीतिक आँखाले हेर्नु भएन, उहाँको आँगनमा कांग्रेसमात्रै होइनन्, सबै दलका हुन्थे । र, सायद उहाँको घर पुग्दा सबैले बिर्सन्थे आफ्नो राजनीतिक आस्था ।

आइतबार सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा खुमबहादुर खड्काको पार्थिव शरीरमा श्रद्धान्जली अर्पण गर्दै वली । तस्वीरः वलीको फेसबुकबाट ।

उहाँले जसलाई विश्वास गर्नुभयो, त्यसका लागि ज्यान दिन पनि तयार हुनुभयो ।

तर, समयको खेला उहाँले जसलाई सारा कुरा दिनुभयो, उनीहरुले उहाँलाई परेको समयमा सहयोग गर्न सकेनन् । उहाँले सबैलाई भरिदिनुभयो र आफू जानुभयो खाली भएर, रित्तिएर । आज अरु केही गर्दै होलान् यो संसारमा, उहाँ यो संसार छोडेर जानुभयो ।

अर्को एउटा प्रसंग सम्झन्छु– रेडियो नेपालमा मैले जागिर पाएपछि उहाँलाई फेरि भेट्न गएकी थिएँ, धन्यवादसहित । उहाँले भन्नुभयो– मेरो कारणले होइन, तपाईंको आफ्नो प्रतिभाले पाउनु भएको, माथि पुग्नुस्, शुभकामना छ ।

त्यसलाई मैले उहाँको आर्शिवादको रुपमा लिएँ, त्यसरी नै सम्झिएँ । र, मेहनत गर्न छाडिनँ । उहाँलाई मेरो परिश्रम र मेहनत सबै थाहा थियो, त्यसमा उहाँ खुसी हुनुहुन्थ्यो ।

हो, सहयोगी मन भएको उहाँ स्पष्ट वक्ता हुनुहुन्थ्यो र अरुको खुसीमा, अरुको सफलतामा खुसी हुन सक्ने विशेष क्षमता राख्नुहुन्थ्यो ।

पछिल्लो पटक म एमालेमा प्रवेश गर्दागर्दै उहाँसँग निकै लामो कुराकानी भएको थियो । मेरो निर्णय बाहिर आइसकेपछि म उहाँकहाँ गएकी थिएँ । उहाँले सोध्नुभयो– किन एमालेमा ?

मैले मेरो सोच र पार्टीको सोच मिलेको र अहिलेको परिस्थितिलाई एमालेले सम्बोधन गरेको एउटा लामो जवाफ दिएकी थिएँ ।

उहाँ मेरो कुरा सुनेर कन्भिन्स हुनुभएको थियो ।

मेरो जवाफमा उहाँले भन्नुभएको थियो– कन्भिन्स्ड भएर लाग्नुभएको छ, ठिक हुन्छ ।

त्यति बेला पनि उहाँले मलाई राजनीतिक आँखाले हेर्नु भएन । उहाँ कांग्रेस हुनुहुन्थ्यो, म एमाले भएकी थिएँ । तर, उहाँले भन्नुभयो– देशका लागि राम्रो गर्नुस् ।

आज देशले आफूलाई माया गर्ने एउटा देशभक्त गुमाएको छ, उहाँले छोडेर जाँदा एउटा असल व्यक्तिले छोडेर गएको आभास भएको छ ।

हार्दिक श्रद्धान्जली । अलबिदा ।