देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओलीलाई नयाँदिल्लीमा गृहमन्त्रीको स्वागत

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्र्रािष्ट्रय विमानस्थलमा गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका छन् ।

भाजपा पूर्वअध्यक्ष समेत रहेका गृहमन्त्री सिंह ओली सवार नेपाल एयरलाइन्सको जहाज ओर्लिनुभन्दा केही समय अघि नै विमानस्थल आइसकेका थिए ।

प्रधानमन्त्री ओली भारतको तीनदिने राजकीय भ्रमणमा छन् । प्रधानमन्त्री ओली शुक्रबार विहान ५४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत प्रस्थान गरेका हुन् ।

राष्ट्रपति भवनमा केहीबेर आराम गरेपछि उनले भारतीय उद्योगी व्यवसायीसँग छलफल गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतीय व्यवसायीसँगको छलफलपछि प्रधानमन्त्री ओलीले नेपाली दूतावासमा नेपाली समुदायसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

साँझ ओली नेपाली दूतावासले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछन । रात्रिभोजमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीदेखि विभिन्न राजनीतिक दलका शीर्ष नेताका साथै कूटनीतिज्ञ र पत्रकारलाई आमन्त्रित गरिएकोे छ ।

भारतीय समकक्षी मोदी र ओलीबीच शनिबारमात्र औपचारिक भेटवार्ता हुनेछ । बिहान राष्ट्रपति भवनमा मोदीले ओलीलाई स्वागत गर्नेछन् भने त्यसपछि भारतीय सेनाले ओलीलाई ‘गार्ड अफ अनर’ दिएपछि प्रधानमन्त्री ओलीसँग भारतीय राष्ट्रपति र उपराष्ट्रपतिले भेट्ने कार्यक्रम छ ।

भेटपछि ओली राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुग्नुहुनेछ । उहाँले त्यहाँ दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।

हैदरावाद हाउसमा सुरुमा दुई प्रधानमन्त्रीबीच एक्लाएक्लै वार्ता हुनेछन् भने त्यसपछि दुई देशका प्रतिनिधिमण्डलसहित औपचारिक छलफल हुनेछ ।

दुवै नेताले दिल्लीबाटै वीरगन्जमा रहेको एकीकृत चेकपोस्टको उद्घाटन गर्ने परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हैदरावाद हाउसमै दुई नेताको संयुक्त पत्रकार सम्मेलन हुनेछन् । पत्रकार सम्मेलनमा दुवै देशका प्रधानमन्त्रीले सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्री ओलीसँग भारतीय विदेशमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीले भेट्ने कार्यक्रम छ भने भारतीय नेताहरूले पनि शनिबारै भेट गर्नेछन् ।

इन्डिया फाउन्डेसनले आयोजना गर्ने कार्यक्रममा पनि प्रधानमन्त्री ओली सहभागी हुनुहुनेछ । प्रधानमन्त्री ओलीको सम्मानमा भारतीय प्रधानमन्त्री मोदीले दिवाभोज आयोजना गर्नुहुनेछ भने राष्ट्रपति रामनाथ कोविन्दले रात्रिभोज दिनेछन् ।

दिल्ली भ्रमणको अन्तिम दिन आइतबार प्रधानमन्त्री ओली उत्तराखण्ड जाने कार्यक्रम रहेको छ । उत्तराखण्डस्थित पन्तनगरमा रहेको गोविन्दवल्लभ पन्त कृषि विश्वविद्यालयको दीक्षान्त समारोहमा ओली सहभागी हुनेछन ।

प्रधानमन्त्री ओलीलाई उक्त विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि दिनेछन् भने प्रधानमन्त्री ओली सोही दिन साँझ स्वदेश फर्कने कार्यक्रम रहेको छ ।