काठमाडौँ । नेपाली कांग्रेस ६९ वर्षमा प्रवेश गरेको छ । वि.सं. २००६ सालमा चैत २७ गते आजकै दिन नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबीच एकीकरण भएर नेपाली कांग्रेसको स्थापना भएको थियो । कांग्रेसले अहिलेसम्म २००७ सालको क्रान्ति, २०३६ सालको जनमत संग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको प्रजातन्त्र बहालीका लागि आन्दोलन र २०६२–०६३ सालको दोस्रो जनआन्दोलनको नेतृत्व गरिसकेको छ ।
कांग्रेस नेतृत्वकै सरकारको पालामा संविधानसभामार्फत संविधान जारी गरेर नयाँ संविधान कार्यान्वयन गर्ने स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएका छन् ।
स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्न भने चुकेको छ । मुलुकका दुई ठूला कम्युनिस्ट पार्टी गठबन्धन बनाएर चुनावी मैदानमा उत्रिए पछि कांग्रेस अधिकांश स्थानमा पराजित भएको छ ।
निर्वाचनमा पराजित भए पछि कांग्रेसमा गुटगत राजनीति मौलाएको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौला पक्षीय नेताहरु नेतृत्वको असफलताका कारण चुनावमा पराजय भोग्नु परेको बताउँदै आएका छन् । सभापति शेरबहादुर देउवा पक्षीय नेताहरु नेतृत्वको बचाउ गर्दै कम्युनिष्ट गठबन्धनकै कारण चुनावमा पराजय व्यहोर्नु परेको र पराजयको जिम्मेवारी सबैले लिनु पर्ने पक्षमा उभिएका छन् ।
चुनावमा पराजित भए लगत्तै चुनावी समीक्षा गर्नु पर्ने माग उठे पनि कांग्रेसले चैत ९ गतेबाट मात्रै केन्द्रीय कार्यसमितिको बैठक बोलाएर चुनावी समीक्षा सुरु गरेको थियो । चुनावी समीक्षा चलिरहेको बेला पार्टीका पूर्वमहामन्त्री खुमबहादुर खड्काको उपचारका क्रममा निधन भए पछि बैठक स्थगित गरिएको छ । यसैबीच पार्टी सभापति देउवाले नेपाली कांग्रेसको जन्मदिनको उपलक्ष्यमा शुभकामना दिएका छन् ।
देउवाले नेपाली कांग्रेस स्थापना भएको आज ६८ बर्ष पुगेको अवसरमा सबै लोकतन्त्रवादी साथीहरु, नेपाली कांग्रेसका विभिन्न तहमा रहनुभएका मित्रहरु लगायत सबैलाई हार्दिक शुभकामना व्यक्त गरेका छन् ।





प्रतिक्रिया