देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बलियो कांग्रेस नेतृत्व फेरिएपछि मात्रै : वरिष्ठ नेता पौडेल

देशान्तर

बेनी ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई बलियो बनाउन नेतृत्व परिवर्तनको आवश्यकता रहेको बताएका छन्।  नेपाली कांग्रेस म्याग्दीले बुधबार बेनीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले भने, ‘निर्वाचनमा पार्टी पराजित भएको नैतिक जिम्मेवारी नेतृत्वले लिनुपर्छ। विगतमा कृष्णप्रसाद भट्टराईदेखि गिरिजाप्रसाद कोइरालासम्मले त्यो नैतिकता देखाउनुभएको थियो तर वर्तमान सभापति शेरबहादुर देउवाजीले कुनै नैतिक जिम्मेवारी लिनुभएन।’

नैतिकताको आधारमा नेतृत्व त्याग गरी नयाँलाई अवसर दिन सुझाव दिए पनि सभापति देउवाले त्यसलाई सुनुवाई नगरेको नेता पौडेलको भनाइ छ। निर्वाचनमा पार्टीले व्यहोरेको हारबाट नेतृत्वले पाठ सिक्नुपर्नेमा उनले जोड दिए। पौडेलले भने, ‘पार्टीमा योगदान र क्षमताको पहिचान गर्न नसक्दा निर्वाचनमा अप्रत्यासित हार व्यहोर्नुपरेको हो। अब तल्लो तहबाटै हारको निर्मम समीक्षा गर्नुपर्छ।’  निर्वाचनमा कांग्रेस पराजित भए पनि कांग्रेसको सिद्धान्त र विचारले विजय प्राप्त गरेको उनको भनाइ थियो।

नेता पौडेलले निर्वाचनमा मतदातालाई झुक्याउन एमाले र माओवादीले पार्टी एकताको नाटक मंचन गरेको भन्दै दुई कम्युनिस्ट पार्टी कुनै पनि हालतमा एक हुन नसक्ने दाबीसमेत गरे।  कम्प्युनिस्टहरूले विगतदेखि नै झूटको राजनीतिमार्फत् सत्यलाई छिपाउने प्रयास गरिरहेको भन्दै वरिष्ठ नेता पौडेलले इमानको राजनीति गर्ने भए पार्टी एकता गरेर पाँच वर्षसम्म ढुक्कले सत्ता संचालन गर्न चेतावनीसमेत दिए।