देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मन्त्री लालबाबु पण्डितविरुद्ध कर्मचारी अदालत जाने

देशान्तर

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितका कारण सरकारले स्वेच्छिक अवकाश योजना स्थगन गरेको विरोधमा निजामती कर्मचारीले अदालत जाने तयारी गरेका छन् । सरकारले कानुन उल्लंघन गर्दै अवकाश योजना थाँती राखेपछि न्याय माग्न अदालत जाने तयारी गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारीले बताएका छन ।

विभागीयमन्त्री पण्डितले अवकाशमा जान चाहेका कर्मचारीलाई सहयोग गर्नुको साटो उल्टै कर्मचारीको मनस्थितिविपरीत निर्णय लिएको भन्दै कर्मचारीले मन्त्रीविरुद्ध अदालत जाने तयारी गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शाखा अधिकृत मित्रप्रसाद खतिवडाले विभागीय मन्त्री र प्रधानमन्त्रीलाई विपक्षी बनाएर सर्वोच्चमा मुद्दा दर्ताको तयारी भइरहेको बताएका छन् । उनले सबै कर्मचारी संगठन र विभागहरूमा पत्राचार भइसकेको मुद्दा दर्ताका लागि ड्राफ्ट तयार भइरहेको बताएका छन् । स्वेच्छिक अवकाशका लागि निवेदन दिएका कर्मचारीहरूले वर्तमान सरकारले कानुनको व्याख्या र कार्यान्वयन शैली गलत ढंगले गरिरहेको बताएका छन् ।

सामान्य प्रशासन मन्त्रालयका केही एमाले निकट कर्मचारी संगठनका कर्मचारीले मन्त्री पण्डितलाई उक्साएर स्वेच्छिक अवकाश रोक्ने खेल खेलेको आरोप पनि लगाएका छन् । स्वेच्छिक अवकाशमा निवेदन दिएका कर्मचारीको सूची माग्दासमेत अहिले मन्त्री पण्डितले दिएका छैनन् । स्वेच्छिक अवकाशको प्रक्रिया किन रोकिएको हो र रोक्नुको कारण माग्दासमेत मन्त्री पण्डितले कुनै जवाफ दिन सकेका छैनन् । स्वेच्छिक अवकाशमा निवेदन दिएका कर्मचारीको राजीनामा स्वीकृत गरिनुको कारण बारे पनि मन्त्री पण्डित बेखबर रहेका छन् । स्वेच्छिक अवकाशमा निवेदन दिएका कर्मचारीले निवेदन फिर्ता लिन नपाउने ऐनमा व्यवस्था छ ।

जल तथा मौसम विज्ञान विभागका लेखा अधिकृत गणेशप्रसाद गुरागाईंले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवलाई लेखेको पत्रमा दुई तिहाइ बहुमत भएको दाबी गरेका छन् । कर्मचारीले हस्ताक्षर गरेको उक्तपत्र प्रधानमन्त्री, मुख्यसचिव, निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनलगायतलाई पठाई सकिएको छ । पत्रमा कर्मचारीले अदालतमा मुद्दा दायर गर्नुका साथै सिंहदरबार भित्र र देशभरिका सरकारी कार्यालयबाट आन्दोलन सुरु गर्ने पनि बताएका छन् । यसअघि चैत १३ गतेसम्म मन्त्रालयले स्वेच्छिक अवकाश चाहनेको सूची निकाल्ने जनाएको थियो । तर, मन्त्री लालबाबु पण्डितले कर्मचारी अभाव हुने भन्दै अवकाश चाहनेको सूचना पनि लुकाएका छन् । सामान्य प्रशासन मन्त्रालयका सचिवलाई पठाएको पत्रमा कर्मचारीले माग पूरा गर्न दबाब दिँदै हडताल र टायर बाल्ने अवस्था सिर्जना नगर्न आग्रह गरेका छन् ।

उनीहरूले न्यायालयको ढोका ढक्ढक्याउनुभन्दा पहिले नै मन्त्रालयले स्वेच्छिक अवकाशका विषय समाधान गर्नुपर्ने माग राखेका छन् । कर्मचारीको इच्छाविपरीत काममा खटाउँदा कार्यसम्पादन प्रभावकारी नहुने भएकाले बरु स्वेच्छिक अवकाश नै उपयुक्त हुने कर्मचारीको तर्क छ । संघ, प्रदेश र स्थानीय तहमा नयाँ कर्मचारी भर्ना गर्दा कार्य सम्पादन प्रभावकारी हुने उनीहरूको बुझाइ छ । सामान्य प्रशासन मन्त्रालयले भने स्थानीय तहमा ३६ हजार हाराहारीमा कर्मचारी आवश्यक पर्नेमा २६ हजार मात्रै कर्मचारी कार्यक्षेत्र रहेकाले १० हजार कर्मचारी पूर्ति गर्न नसकेको जनाएको छ । स्वेच्छिक अवकाशमा निवेदन दिएकामध्ये करिब १३ सय कर्मचारीले निवृत्तिभरण पाइसकेका छन् । तर उनीहरूको पेन्सनपट्टा भने बनेको छैन । मन्त्रालयले अवकाशको पत्र नदिँदा पेन्सनपट्टा बनाउन नपाएको कर्मचारीको गुनासो छ । कर्मचारीले असार मसान्तसाँ सरकारको निर्णय पर्खने र सरकारले बेवास्ता गरे अदालत र आन्दोलन सँगसँगै लाने बताएका छन् ।