देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमालेले तोक्यो नेताहरुको मर्यादाक्रम

देशान्तर

काठमाडौं । नेकपा एमालेले पार्टी संगठन र संसदीय दलमा नेताहरुको वरियताक्रम निर्धारण गरेको छ । पार्टी स्थायी कमिटीमा १६ औं नम्बरको बरियतामा रहनुभएका नेता सुवास नेम्वाङ अब संसदीय दलको चौथो नम्बरमा पुगेका छन ।

एमाले संसदीय दलको बैठकमा उपाध्यक्ष भीम रावल र महासचिव ईश्वर पोखरेलभन्दा नेम्वाङलाई माथिल्लो बरियतामा राखिएको छ । पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली र बरिष्ठ नेताद्धय झलनाथ खनाल तथा माधव नेपालपछि सुवास नेम्वाङको बरियता कायम भएको छ ।

पार्टी र संसदीय दलमा नेताहरुको बरियता अलग अलग हुने एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले बताए । संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतक र सचेतक पदाधिकारी मानिने भएकाले पार्टी र दलको बरियताक्रम फरक फरक हुनसक्ने उनको भनाइछ ।

एमाले संसदीय दलको बरियतामा उपनेता नेम्वाङपछि उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव बिष्णु पौडेल, घनश्याम भुसाल, सचिवहरु प्रदिप ज्ञवाली, गोकर्ण विष्ट र योगेश भट्टराई रहेका छन । त्यसपछि स्थायी कमिटी सदस्यहरु मुकुन्द न्यौपाने,सुरेन्द्र पाण्डे र छबिलाल विश्वकर्माको बरियता कायम गरिएको छ ।

स्थायी कमिटी सदस्यहरुपछि प्रमुख सचेतक खगराज अधिकारी र सचेतक शान्ता चौधरी १५ औं र १६ औं नम्बर बरियतामा परेका छन । बाँकी सांसदहरुको बरियताक्रम भने वर्णानुक्रम अनुसार राखिएको छ । एमालेका प्रतिनिधिसभामा १२१ र राष्ट्रियसभामा २७ सांसद रहेका छन । माओबादीसंग पार्टी एकतामा ढिलाई भएपछि एमालेले नेताहरुको वरियताक्रम निर्धारण गरेको हो ।