देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मन्त्री गौचनको सफलता, एकीकृत व्यापार रणनीति सार्वजनिक

देशान्तर

काठमाडौं । सरकारले निर्यात व्यापार प्रवद्र्धन गर्नका लागि नेपाल एकीकृत व्यापार रणनीति–२०१६ सार्वजनिक गरेको छ । 

वाणिज्यमन्त्री रोमी गौचन थकालीले आज आयोजित कार्यक्रममा सरकारको पाँच वर्षे रणनीति सार्वजनिक गरेका हुन् । 

रणनीति सार्वजनिक गर्दै उनले देशमा उत्पादन हुने निर्यात बढाएर आर्थिक वृद्धिदर बनाउनुपर्ने बताए । 

राजनीतिक अस्थिरताले आर्थिक विकास गर्न नसकिएको बताउँदै उनले संविधान कार्यान्वयन गरेर देशलाई आर्थिक समृद्धितर्फ डोर्याउनुपर्नेमा जोड दिए । 

उनले छिमेकी मुलुक भारत र चीनमा नै यहाँका उत्पादन भएका वस्तु बढीभन्दा बढी निर्यात गर्न सकिने भए पनि बजार व्यवस्थापनमा चुनौती रहेको उल्लेख गरे । 

उनले व्यापार नीति समय समयमा परिमार्जन गरेर अन्तर्राष्ट्रियस्तरमा यहाँका स्थानीय वस्तु निर्यात गर्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा सचिव ङइन्द्रप्रसाद उपाध्यायले अघिल्लो सन् २०१० मा जारी गरिएको रणनीतिभन्दा अहिले कम वस्तु निर्यात गर्ने लक्ष्य लिए पनि ती वस्तुबाट धेरै निर्यात गरेर आर्थिक वृद्धिदर हासिल गर्ने बताए । 

रणनीतिमा अचैँली, अदुवा, चिया, औषधिका कच्चा पदार्थ, गार्मेन्ट, छाला, छालाका जुत्ता, पस्मिना र कार्पेट गरी नौ प्रकारका वस्तु तथा सेवातर्फ दक्ष कामदार, सूचना प्रविधि र पर्यटन क्षेत्रमा काम गर्न सकिने लक्ष्य लिइएको छ । 

सन् २०२० सम्म राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनको चार प्रतिशत ती वस्तु र सेवा निर्यात गरेर पुर्याउने लक्ष्य लिइएको उनले जानकारी गराए । 

कार्यक्रममा आदित्यनारायण कौशधन, राष्ट्रिय योजना आयोगका सदस्य स्वर्णीय वाग्ले, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारका, नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्मा, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले विदेशमा गएका युवालाई स्वदेशमा नै राखेर उत्पादनमुखी कार्यक्रम ल्याउनुपर्नेमा जोड दिँदै देशबाट निकासी हुने वस्तु कम लागतमा उत्पादन गरेर अन्य देशसँग प्रतिस्पर्धी बनाएर बेच्नुपर्ने बताए ।

]]>