देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकारी निकायमा बेरुजु हुन नदिने मुख्यसचिव रेग्मी को प्रतिवद्धता

देशान्तर

काठमाडौं– सरकारले बेरुजु हुन नदिने प्रतिवद्धता व्यक्त गरेको छ । नेपाल सरकारका मुख्य सचिव एवम् बेरुजु फछर्यौट मूल्यांकन तथा अनुगमन समितिका अध्यक्ष लोकदर्शन रेग्मीले चालू आर्थिक वर्षबाटै बेरुजु हुन नदिने गरी बेरुजु फछर्यौट मूल्यांकन र अनुगमनको कामलाई कडाईका साथ अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

संसदको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै मुख्यसचिव रेग्मीले बेरुजु हुन नदिन बजेटको निकासा, खर्च र खर्च प्रतिवेदनको लेखा परीक्षणको काममा महालेखा परीक्षकको कार्यालयसँग बलियो समन्वय गर्ने योजना पनि अघि सारेका छन् । मुख्यसचिव रेग्मीले बेरुजु हुन नदिन सार्वजनिक खरिद ऐन संशोधनको कामलाई अघि बढाउन लागिएको पनि जानकारी दिए । उनले भईरहेको बेरुजु घटाउने कामलाई पनि उच्च प्राथमिकता दिने कार्ययोजना पनि समिति समक्ष पेश गरे ।

मुख्य सचिव रेग्मीले राजस्व असुलीको काममा ढिलाई नगर्ने प्रतिबद्धता पनि व्यक्त गर्दै राजस्व असुली सरकारको दायित्व भएकाले यसलाई समयमै असुली गर्ने कामलाई तीव्रता दिने समितिलाई जानकारी दिए । मुख्यसचिव रेग्मीले संसदीय समितिले दिएको निर्देशन पूर्ण कार्यान्वयनका लागि आफ्नै अध्यक्षतामा सचिवालयको व्यवस्था गरिएको जानकारी दिँदै समितिको निर्देशन पालनामा प्रतिबद्ध भएर लाग्ने बताए ।