काठमाडौँ । नेपाल र भारतबीच रक्सौल-काठमाडौं रेलवे लाइनको सर्भे सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ। बिमस्टेकको चौथो शिखर सम्मेलन समापनपछि हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको द्धिपक्षीय वार्तामा काठमाडौं-वीरगञ्ज रेलवे लाइनको सर्भे सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुनेछ।
यसअघि नै भएको द्विपक्षीय सहमति अनुसार समझदारी पत्रमा शुक्रबार हस्ताक्षर हुन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच एक वर्षमा विस्तृत परियोजना प्रतिवेदन तयार पारेर पाँच वर्षभित्र रेलवे लाइन निर्माण सम्पन्न गर्ने सहमति भएको थियो। रेलवे लाइन निर्माणका लागि सबै लगानी भारतले गर्ने सहमति पनि प्रधानमन्त्री ओलीको भारत भ्रमणका बेला समझदारी भएको थियो।
बिमस्टेकको चौथो सम्मेलन शुक्रबार दिउँसो १ बजे काठमाडौं घोषणा पत्र जारी गर्दै सकिँदैछ। सम्मेलन सकिएपछि प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच द्धिपक्षीय वार्ता हुने कार्यक्रम छ। भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री ओलीले पुशपति मन्दिर परिसरमा भारतको सहयोगमा निर्माण भएको धर्मशालाको संयुक्तरुपमा उद्घाटन गर्ने कार्यक्रम छ। भारतीय प्रधानमन्त्री मोदी आजै साँझ ८ बजे स्वदेश फर्किने छन्।





प्रतिक्रिया