देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बुढानिलकण्ठमा जमिन फाट्यो : ४ घर भत्किए, १४ घर धरापमा

देशान्तर

बुढानिलकण्ठ नगरपालिका विष्णुमति टुसालमा शुक्रबार जमिन फाटेपछि चार घर भत्किएका छन्। थप १४ घरसमेत धरापमा परेको बुढानिलकण्ठ प्रहरी प्रभागका टोपबहादुर शाहीले जानकारी दिए। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

शाहीका अनुसार जमिन फाटेपछि १४ परिवार विस्थापित भएका छन्। घर भत्किएका र विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। जमिन चिरा परेर फाटेपछि चित्रबहादुर बस्नेत, राधिका धिताल, वीरबहादुर तामाङ र सुशीला बस्नेतको घर भत्किएको हो । शाहीले घर भत्केको स्थानमा प्रहरी पुगिसकेको उल्लेख गर्दै त्यहाँ मानवीय क्षति भने नभएको बताए।

स्थानीय विजेन्द्र बुढाथोकीका अनुसार उक्त ठाउँमा चार–पाँच दिनदेखि नै जमिनमा चिरा पर्न थालेको थियो । बिहीबार भूगर्भविदको टोली आएर चिरा परेको ठाउँ अवलोकन गरेको थियो।

पानी बढी पर्न थालेपछि चिरा बढै गएको र घर भत्कन थालेकोसमेत बुढाथोकीले बताए । चिरा परेको ठाउँमा पहिला डाँडो थियो । खारेर प्लटिङ गरिएको हुनाले जमिन चिरा परी फाटेको हुन सक्ने अनुमान भूगर्भविदले गरेका छन्।