देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चिकित्सकहरुद्वारा मइतीघरमा प्रदर्शन, देशभरका अस्पतालमा ‌ओपीडी सेवा बन्द

देशान्तर

काठमाडौं । भदौ १ देखि लागू भएका मुलुकी देवानी र अपराध संहिताको विरोधमा नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरुले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। विभिन्न नारा लेखिएका प्लेकार्ड र एप्रोन लगाएरै प्रदर्शनमा उत्रिएका चिकित्सकहरु नारा लगाउँदै नयाँ बानेश्वर चोकमा पुगेर कोणसभा गरेका छन् ।

नेपाल चिकित्सक संघले आइतबार देशभरका सम्पूर्ण स्वास्थ्य संस्थामा आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा ठप्पा पारेको छ। अस्पतालको टिकट काउन्टरमा संघको विज्ञप्ती टाँस गरेर ओपीडी सेवा दिन नसकिएको जनाइएको छ। जसका कारण उपचारको लागि आएका विरामीहरु प्रभावित बनेका छन्।

संघका महासचिव डा. लोचन कार्कीले नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ र कानुनमन्त्री भानुभक्त ढकालसँग शुक्रबार सिंहदरबारमा भएको बैठकमा सकारात्मक परिणाम निस्कन नसकेकाले हडतालमा उत्रनुपरेको बताए। उनले भने, ‘सरकारले सहमतिबमोजिम संहिता संशोधन प्रक्रिया अघि बढाएन । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी ऐन २०६६ एवं नियमावली २०६९ बनिसके पनि चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमणका घटना बढिरहेकाले यस्ता घटनामा संलग्न दोषीमाथि कारबाही गर्नका लागि बिनाधरौटी जेल चलानको व्यवस्था नभएसम्म स्वास्थ्य सेवा सञ्चालन गर्न नसक्ने अवस्था रहेको हाम्रो ठहर छ।’ संघले सोमबारदेखि शुक्रबारसम्मका लागि आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेको छ।

सोमबार देशभरका स्वास्थ्य संस्थाका प्रशासनिक काम बन्द गर्ने, मंगलबार आकस्मिकबाहेकका अन्य अन्तरंग सेवामा बिरामी भर्ना गर्ने कार्य बन्द गर्ने, बुधबारदेखि आकस्मिकबाहेकका अन्य शल्यक्रिया बन्द गर्ने, बिहीबारदेखि आकस्मिकबाहेकका ल्याब तथा रेडियोलोजी सेवा बन्द गर्ने र शुक्रबारदेखि आकस्मिकबाहेकका ओपिडीलगायतका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने सम्मका आन्दोलनका कार्यक्रम संघले तय गरेको छ।